१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कान्तिपुर हाफ म्याराथन सुरु

sarusaru
५ जेष्ठ २०७५, शनिबार ०३:००

काठमाडौँ — कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करण शनिबार सुरु भएको छ । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट प्रधानमन्त्रीले म्याराथन कार्यक्रमको उद्घाटन गरेपछि खेल सुरु भएको हो ।

महिलातर्फ सर्वाधिक चारपल्टकी विजेता कान्छीमाया कोजुलाई यसपालि पनि उपाधि दाबेदार मानिएको छ । ‘तयारी राम्रै गरेकी छु । फेरि जित्ने प्रयास गर्नेछु,’ ३६ वर्षीया उनले भनिन् । यसअघि उनले २०६७, ०६९, ०७० र पछिल्लो संस्करण २०७३ सालमा उपाधि जितेकी थिइन् । एपीएफ क्लबबाट उनीसँगै विन्द्रा श्रेष्ठ र पुष्पा भण्डारी दौडँदै छन् ।

रमन मोटर्सको उत्पादन रनर मोटरसाइकलको मुख्य प्रायोजन रहेको हाफ म्याराथनमा कान्छीलाई २१.१ किमिमा आर्मीकी रेशु बस्नेत, सानुमाया कार्की, चन्द्रा राउतसँगै जुम्लाका धाविकाहरूले चुनौती दिने अपेक्षा गरिएको छ । रेशु सातौं संस्करणकी विजेता हुन् ।

पुरुषतर्फ विभागीय टोलीका धावकहरूलाई नै बलियो मानिएको छ । २०६९ का विजेता कल्याण बानियाँसहित आर्मीका गजेन्द्र राई, लालबहादुर थापा, होमलाल श्रेष्ठ, टीकाराज कटवाल दौडँदै छन् । तीनपल्टका विजेता हरिकुमार रिमाल भने दौडने निश्चित नभएको आर्मीका प्रशिक्षक पुष्पराज ओझाले बताए । ‘उनको मांसपेसीमा समस्या देखिएको छ । सुधारको अवस्था हेरेरमात्रै दौडने छन्,’ प्रशिक्षक ओझाले भने ।

एपीएफका गोपीचन्द्र पार्कीसहित ११ धावक सहभागी हुँदै छन् । पार्की २०७२ सालका विजेता हुन् र यसपालि पनि उनले उपाधि होडमा चुनौती दिने अपेक्षा गरिएको छ । पुलिसका भूमिराज राई भने हालै अल्ट्रा दौडमा सहभागी भएकाले कान्तिपुर रनर हाफ म्याराथनमा प्रतिस्पर्धा गर्ने छैनन् ।

आठौं कान्तिपुर रनर हाफ म्याराथनमा पुरुष र महिला दुवैका विजेताले ५०–५० हजार रुपैयाँ र रनर काइट प्लस स्कुटर पाउने छन् । उपविजेताले ३०–३० हजार र तेस्रोले २०–२० हजार पाउने छन् । चौथोले १०–१० हजार, पाँचौंले ५–५ हजार र छैटौं हुनेले ३–३ हजार प्राप्त गर्नेछन् । कान्तिपुर पब्लिकेशन्सको सेन्ट्रल बिजनेस पार्क, थापाथलीबाट दौड सुरु हुनेछ । त्यसपछि माइतीघर, नयाँ बानेश्वर, सानोठिमी हुँदै भक्तपुरको सल्लाघारी चोक पुगेर यसै रुटमा फर्केर थापाथलीमै प्रतिस्पर्धा टुंगिनेछ ।

ह्विलचियर रेस थापाथलीबाट सुरु भई माइतीघर मण्डलाबाट पुन: थापाथली फर्केर सकिनेछ । यो स्पर्धामा विजेता महिला र पुरुषले २०–२० हजार पाउने छन् । दोस्रोलाई १०–१० हजार र तेस्रो हुनेले ५–५ हजार हात पार्ने छन् ।

कर्पोरेट–मिडियाको दौड ५ किमिको हुनेछ र यसमा ५ सय बढी पुरुष र करिब ३ सय महिलाले नाम दर्ता गरेका छन् । यो स्पर्धा थापाथलीबाट सुरु भई माइतीघर हुँदै सिभिल हस्पिटलबाट फर्केर पुन: सोही रुट फर्कंदै थापाथली पुगेर टुंगिनेछ ।

यसको विजेताले काठमाडौं–हङकङ–काठमाडौंको हवाई टिकट प्राप्त गर्नेछन् ।
कान्तिपुर