७ बैशाख २०८१, शुक्रबार
Follow Us

आईपिएलमा सन्दिप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७५, शनिबार ०४:४४

नयाँदिल्ली । इण्डियन प्रिमियर लिगको दोस्रो खेलमा नेपाली युवा बलर सन्दीप लामिछाने स्टाइलिस प्लेयर अफ् द म्याच घोषित भएका छन् ।
चेन्नई सुपर किंग्सलाई ३४ रनले हराउने क्रममा सन्दिपले एक विकेट लिए । १६३ रनको लक्ष्य पछ्याएको चेन्नई सुपर किंग्सलाई १२८ रनमा समेट्न सन्दीपले ५.२५ को औसतमा २१ रन दिए । ४ ओभर बलिङ गर्दै सन्दिपले सुरेश रैनाको विकेट लिएका थिए । सुरेश रैना र महेन्द्रसिंह धोनीको साझेदारीलाई तोड्न सफल भए सन्दीप लामिछाने । चार ओभरमा १० बल सन्दीपले डट गराउन सफल भए ।

रैना र धोनीको साझेदारी तोड्नु तथा कम रन खर्चनु नै दिल्लीका लागि जितको आधार बन्यो । सन्दीपसहित दिल्लीका बलरहरुले कसिलो बलिङ गरे । आवेश खान भने केही महंगा सावित भए । दुई ओभर बलिङ गरेका खानले २८ रन खर्चिए । ४ ओभर बलिङ गरेका अमित मिश्रा र ट्रेन्ट बोल्टले २–२ विकेट लिँदै मात्र २० रन दिए । त्यस्तै ४ ओभर नै बलिङ गरेका हर्षल पटेलले एक विकेट लिँदै २३ रन खर्चिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्ली डेरडेविल्सले २० ओभरमा ५ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । दिल्लीका लागि ऋषव पन्तले सर्वा्धिक ३८ रन बनाएका थिए भने विजय शंकर र हर्सल पटेलले ३६–३६ रनको योगदान दिए । हर्सलले अन्तिम ओभरमा ३ छक्कासहित १९ रनको योगदान दिएपछि दिल्लीले बलियो स्कोर तयार पारेको थियो । दिल्लीले अन्तिम ओभरमा मात्रै २६ रन बटुलेको थियो । दिल्लीका हर्षल पटेल म्यान अफ् द म्याचसमेत बने ।

बलिङतर्फ लुंगी एनगिडीले २ विकेट लिए भने दिपक चाहर, रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १–१ विकेट लिए । १६३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १२८ रनमा समेटियो । चेन्नईका लागि अम्बाती रायूडुले अर्धशतक पार गर्दै ५० रन बनाएका थिए भने रवीन्द्र जडेजाले २७ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । चेन्नईले प्लेअफमा स्थान बनाइसकेको छ भने दिल्लीको प्लेअफमा पुग्ने सम्भावना टरिसकेको छ ।