१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजकुमार ह्यारी र मार्कलको बिवाह सम्पन्न

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७५, शनिबार १४:००

विन्डसोर । बेलायतका राजकुमार ह्यारीले शनिबार अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह बन्धनमा बाँधिनुभएको छ ।

राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करिब ६०० विशिष्ठ पाहुना सहभागी भए भने वैवाहिक समारोह भएको दरबार बाहिर हजार्रौ दर्शकहरूले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटासाट गरेका थिए । उहाँहरूको विवाहलाई विश्वभर टेलिभिजनमार्फत विशेष उत्लासकासाथ अवलोकन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विवाह समारोहमा तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कलले एकआपसमा सँगै जिउने वाचा गर्दै औँठी साटासाट गर्नुभएपछि परम्परा अनुसार केनटनबरीका आर्कसिशप जस्टिन वेल्बीले उहाँहरू श्रीमान् र श्रीमती भएको घोषणा गर्नुभएको थियो । यसलाई एउटा ऐतिहासिक घटनाको रूपमा लिइएको छ ।

मार्कल आफ्नी आमासहित रोल्सरोयस गाडीमा विवाहस्थल पुग्नुभएको थियो भने सेन्ट जोर्जेज च्यापलमा पुगेसँगै ह्यारीका पिता युवराज चाल्र्सले मार्कलको हातमा समाएर वैवाहिक समारोहमा लग्नुभएको थियो ।

यसैगरी ह्यारी विवाह समारोहस्थलमा आफ्ना दाजु विलीयमसँगै पुग्नुभएको थियो । विवाहको खुशीयालीमा देशभर चियापान कार्यक्रमको आयोजना गरिएको समाचारमा जनाइएको छ । उहाँहरू सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखापर्नुभएको थियो ।
अमेरिकी टेलिभिजनको टेलिश्रृखंलामा काम गर्दा चर्चित हुनुभएकी मार्कल परोपकारी कार्यमा पनि संलग्न हुनुहुन्छ ।