१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२७७ आरोही सगरमाथाको चुचुरोमा

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७५, शनिबार १४:१४

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सातौँ दिनसम्म २७७ जना आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यस वर्षको वसन्त ऋतुको आरोहण शुरु भएयता हालसम्म २७७ भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेको आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तीलकराम पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजमात्रै ३६ जनाले सगरमाथाको आरोहण गरेका छन् । यसमा २१ नेपाली र १५ विदेशी छन् । शुक्रबार ६५ जनाले सगरमाथा आरोहण गरेका थिए । वैशाख ३० गते आठजना शेर्पा आरोहीबाट सगरमाथाको चुचुरोसम्म डोरी टाँगेपछि यस वर्षको आरोहण शुरु भएको थियो ।

वसन्त ऋतुको यो याममा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् । अधिकांश आरोही सगरमाथाको चुचुरोमा पुगेर धमाधम फर्कंदैछन् भने केही आरोही आरोहणको तयारीमा छन् । कतिपय आरोही आरोहण सकेर गन्तव्यतिर पुगिसकेको सम्पर्क अधिकृत पाण्डेले बताउनुभयो ।