१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अवैध क्रसर उद्योग बन्द गर्न सर्वोच्चको आदेश

sarusaru
६ जेष्ठ २०७५, आईतवार ०४:१२

काठमाण्डौ – सर्वोच्च अदालतले नुवाकोट जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग र फिरेफिरे उद्योग बन्द गर्न आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र केदारप्रसाद चालिसेको संयुक्त इजलासले तादी र त्रिशूली नदीमा अवैध रूपमा ढुंगा, गिटी, बालुवा संकलनमा रोक लगाउन आदेश जारी गरेको हो ।नुवाकोट बेलकोटगढी नगरपालिका ८ का राजेन्द्र चित्रकारले त्रिशूली र तादी नदीमा सञ्चालित उद्योगले वातावरणीय प्रदूषण गरिरहेको तथा वायु तथा ध्वनि प्रदूषणबाट स्थानीय प्रभावित भएको भन्दै रिट दायर गरेका थिए । जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला समन्वय समिति, विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकालाई विपक्षी बनाएर दायर रिटमा सर्वोच्चले अवैध क्रसर उद्योग बन्द गराउन आदेश सुनाएको हो ।कच्चा पदार्थ उत्खनन्मा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) र प्रारम्भिक वातावरणीय परीक्षण (आइई)समेत पालना नभएको निवेदकको माग दाबीअनुसार अदालतले क्रसर उद्योग बन्द गराउन आदेश दिएको छ । त्रिशूली, तादीलगायत नदी किनारमा सञ्चालनमा रहेका क्रसर उद्योग, गिटी, ढुंगा र बालुवा प्रशोधन उद्योगले वातावरण संरक्षण ऐन ०५३ को दफा ९ र १० को उल्लंघन गरेको देखिएकाले तत्काल त्यस्ता उद्योग बन्द गराउन आदेश जारी गरिएको सर्वोच्चले जनाएको छ ।