८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली भाषा बुझ्ने अनौठो हात्ति

sarusaru
६ जेष्ठ २०७५, आईतवार १३:१७

चितवन। हात्तीसारका माहुत विनोद चौधरीले त्रित… सिटी बजाए। लक्ष्मण थुचुक्क बस्यो। अर्काे सिटीमा सुत्यो, अर्काे सिटीमा कोल्टे पर्यो। चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो। यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ।

ओई! लक्ष्मण यता आइज। पर भएको लक्ष्मण खुरुखुरु आयो। अडी! टक्क अडियो। पछाडि जा! पछाडी फर्कियो। जा.. माला लगाई दे भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहिर्याइदिन पुग्छ। टाउकोमा सुँड राखेर आशिर्वाद दिन्छ।

हात्तीले माला पहि¥याइदिएको नौलो मानेका भरतपुरका दिदीभाइ आरती र विजय सापकोटा त्यो देखेर औधी रमाए। उनीहरुले पनि हात्तीबाट माला पहिरिएर आशिर्वाद लिए। “नौलो अनि रमाइलो लाग्यो,” आरतीले भनिन्।

चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको १० वर्षको लक्ष्मणगज हात्ती अहिले आफैं माला लगाइदिन्छ। मानिसलाई आशिर्वाद दिन्छ। टाउको निहुर्याएर ढोग्छ। अनि, पछाडि र अगाडिको खुट्टा उठाएर दुई खुट्टामा उभिन्छ। बडेमानको ज्यान अड्याएर सानो काठको बेन्चमा उभिन्छ। कुनै एउटा वस्तुको गन्ध सुँधाएर त्यसलाई थाहा नपाउने गरी अन्तै राखिदियो भने गन्ध सुँघ्दै खोजेर ल्याउँछ पनि। यसरी नमूना कला प्रदर्शन गर्दै आएको छ लक्ष्मण।

“चारवटा खुट्टा भएको जनावर दुई खुट्टामा बस्न सक्छ कि सक्तैन भनेर हेरियो त्यो पनि सक्यो,” माहुत चौधरीले भने।

दायाँबायाँ जा भन्दा जाने, बस भन्दा बस्ने। उभी भन्दा उभिने गर्छ। “यसले नेपाली भाषा चाहीँ प्रष्ट बुझ्छ,” चौधरीले थपे – “यहाँको थारु भाषा पनि बुझ्छ।”

उनका अनुसार यसरी नेपाली भाषा बुझ्ने हात्ती नेपाल मै पहिलो हो। सामान्यतः नेपालमा पालिएका अन्य हात्ती यस्तो गर्दैन।

यसरी अतिरिक्त कला देखाउने हात्ती पनि नेपालमा पहिलो हो। “फरक कला देखाएको छ लक्ष्मणले,” निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक भन्छन्।

अघिल्लो वर्ष थाइल्याण्डको सर्कसमा पुग्दा हात्तीले विविध कला देखाएको देखिएको थियो। डोरीमा टेकेर हात्ती हिँडेको दृश्य रोमाञ्चक थियो। क्याटवाक पनि राम्रै गरेको थियो। तर त्यति धेरै कला नजाने पनि सौराहाका लक्ष्मणले देखाएको कला आफैंमा नेपालका लागि नौलो छ। सिकाए हात्तीले गर्न सक्छ भन्ने उदाहरण लक्ष्मण हो भन्नुहुन्छ हात्तीका एकजना माहुत कमल परियार।

अरु हात्तीले गर्ने सबै क्रियाकलाप लक्ष्मणले गर्छ। त्यसबाहेक थप प्रतिभा पनि छ लक्ष्मणसँग। सिमिमिती हात्ती सिमेन्टको सानो डिलमा हिँड्दैन। जान डराउँछ। तर यो हात्ती त्यस्ता डिलमा सजिलै हिँड्छ। निकुञ्जको काठे पुलको छेउमा हिँड्न सबै डराउँछ। त्यसैले यसलाई डिल हिँड्न सिकाइएको हो। अगाडि पछाडि पनि हिँड्न सक्छ। सजिलै पछाडि पनि जान्छ।

देवीकलीले २०६५ साल कात्तिक १ गते राम र लक्ष्मण जुम्ल्याहा पाएकी थिइन्। आमासँगै राम चाहीँ निकुञ्जको मुख्य कार्यालय कसरामा छ। लक्ष्मण भने सौराहाको हात्तीसारमा छ। एकपटक सिकिस्त बिरामी परेको थियो लक्ष्मण। मर्यो भनेर बाँचेकाले आरामका लागि यसलाई सौराहा ल्याइएको थियो।

अहिले सौराहामा कला देखाउन थाले पनि हेर्ने पर्यटकको भीड नै हुन्छ। पर्यटकहरु सेल्फी लिन्छन्। तस्वीर लिनेदेखि प्रदर्शन गरेको कलाको भिडियो खिचेर रमाउँछन्।

“भाले हात्ती हो, पछिसम्म यस्तै गरिरहन्छ या गर्दैन भन्न सकिन्न, हेरौं टिनएज लागेपछि के गर्छ,” विनोदले शंका व्यक्त गरे। प्रायः भाले हात्ती जतिसुकै ज्ञानी भएपनि मात चढ्दा पारा देखाइहाल्छ भन्ने उनको अनुभव छ।

हात्तीलाई सिकाउन अगाडि पहिले माहुत आफैंले सिक्नुपर्छ। आज एउटा सिकाउने अनि भोलि अर्काे गर्न लगाउँदा जान्दैन। आज सिकाएको शैलीमा भोलि गर्न लगाउँदा सजिलै गर्छ। ऊसँग कुर्सीमा चारवटै खुट्टा राखेर चढ्न र अडिन सक्ने क्षमता छ।

पहिले पिटाइ दिएर हात्तीलाई सिकाइन्थ्यो। विदेशी वन्यजन्तु विज्ञ आएर पिटाइ भन्दा मिठाइले धेरै कुरा सिक्छ भनेर चितवन निकुञ्जमा जन्मिएका धेरै हात्तीलाई सिकाइयो।

मिठाइबाट सिकाएको हात्तीले सजिलै सिक्यो पनि। त्यही देखेर विनोद चौधरीले हात्तीले के सम्म गर्न सक्छ भनेर आफ्नै सुरमा सिकाउन थालेका थिए। भनेको मान्दा केरालगायत विभिन्न खानेकुरा दिइन्छ। त्यसरी सिकाउँदै नभन्दै धेरै कुरा गर्न सक्ने भएको छ लक्ष्मण।

हात्तीले विनोदको सिटीको स्वरसमेत चिन्छ। सिटीकै इसारामा समेत काम गर्छ। नेपाली भाषामा भनेका कुरा पनि मान्छ। अनि थारु भाषामा भनेका कुरा पनि गर्छ। नेपालमा यतिको कला भएको हात्ती छैन।

‘आफू कन्फ्यूज भयो भने हात्ती नै कन्फ्यूज हुन्छ, आफू पोख्त हुनुपर्छ, हात्तीपनि पोख्त हुन्छ, जे होस् यिनीहरुको मन मस्तिष्कमा चाहीँ बस्दो रैछ,” विनोदले अनुभव सुनाए।

निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन्, “कर्मचारीहरुले आन्तरिक रुपमा के सम्म गर्दाे रहेछ भनेर सिकाएका रहेछन्, माला लगाउने, आर्शिवाद दिने गरिरहेको छ।”
रासस