१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सफल आईपीएल यात्रामा सन्दिप : तीन खेल पाँच विकेट

sarusaru
७ जेष्ठ २०७५, सोमबार ०३:२६

काठमाडौं : विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रचेका सन्दीप लामिछानेले आफ्नो पहिलो सहभागितालाई नै सफल बनाउँदै आगामी संस्करणका लागि गतिलो सम्भावनाको ढोका खोलेका छन्। जारी आईपीएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध भएर पछिल्ला तीन खेलमात्र खेल्ने अवसर पाएका १७ वर्षीय सन्दीपले तीनवटै खेलमा विकेट लिएर आफ्नो सनसनीपूर्ण खेल प्रदर्शन गरे।

अघिल्ला दुई खेलमा एक÷एक विकेट लिएका सन्दीपले आइतबार खेलिएको मुम्बई इन्डियन्सविरुद्घको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिए। सन्दीपले तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अघिल्ला खेलमा आफूलाई नखेलाएकोमा दिल्लीका पदाधिकारी, कप्तान, सहकर्मी र समर्थकले चुकचुकाउनु पर्ने वातावरण सिर्जना गरिदिए। सन्दीपको क्षमतासँग अपरिचित दिल्लीले अघिल्ला ११ खेलमा उनलाई मैदानमा उतारेन।

टोली ‘प्ले अफ’ चरणमा नपुग्ने निश्चित भइसकेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्घको १२ औं खेलमा मात्र दिल्लीले सन्दीपलाई अवसर दिएको थियो। तर, आफूलाई अवसर दिइएको पहिलो खेलमै सन्दीपले बैंगलोरका ओपनर ब्याट्सम्यान पार्थिव पटेललाई ६ रनको व्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेर चर्चा बटुले। आईपीएलमा नेपाली खेलाडीले लिएको यो नै पहिलो विकेट बन्न पुग्यो। उक्त खेलमा उनले चार ओभर बलिङ गर्दै २५ रख खर्चिएका थिए।

त्यसपछि टोलीको विश्वासमा खरो ओर्लिएका सन्दीपले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको चेन्नई सुपर किङ्सविरुद्घको खेलमा पनि अवसर पाए। उनले आफ्नो दोस्रो खेलमा पनि चेन्नईका अनुभवी खेलाडी सुरेश रैना (१५ रन) को विकेट लिएर आफूलाई कमजोर नआँक्न विश्व क्रिकेटमा स्थापित ब्याट्सम्यानलाई समेत गतिलो सन्देश दिए। उक्त खेलमा सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए।

अघिल्ला दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेका कारण आइतबार मुम्बइविरुद्घको खेलमा भने उनलाई ओपनिङ बलरकै रुपमा अवसर दिइयो। अघिल्ला दुई खेलको अनुभवले आत्मविश्वास बलियो बनाएका सन्दीपले आफ्नो पहिलो ओभरको चौथो बलमै मुम्बईका ओपनर ब्याट्सम्यान सूर्यकुमार यादव (१२ रन) लाई विजय शंकरद्वारा क्याच आउट गराए। पहिलो ओभरमै विकेट गुमाएपछि ‘प्ले अफ’ चरणमा पुग्न खेल जित्नै पर्ने अप्ठ्रोमा अवस्थामा रहेको मुम्बईले दबाबमा खेल्नु परेको थियो।

त्यसपछि सन्दीपले आफ्नो दोस्रो ओभरको पहिलो बलमै क्यारेबियन ब्याट्सम्यान काइरन पोलार्ड (सात रन) लाई ट्रेन्ट बोल्टद्वारा क्याच गराए। सोही ओभरको चौथो बलमा उनले क्रुनाल पाण्डेय (चार रन) लाई टेवाटियाद्वारा क्याच गराएर जारी आईपीएलमा आफ्नो विकेट संख्या पाँच पुर्‍याए। तीन विकेट लिए पनि उक्त खेलमा सन्दीप केही महंगा सावित भए। उनले चार ओभरमा ३६ रन खर्चिए। त्यसैले उनी ‘म्यान अफ दी म्याच’ पुरस्कारमा अमित मिश्रासँग चुक्न पुगे। अमितले चार ओभरमा केवल १९ रन खर्चिएर तीन विकेट लिएका थिए।

उक्त खेलमा दिल्लीसँग ११ रनले पराजित भएपछि मुम्बईको ‘प्ले अफ’ चरणमा पुग्ने सम्भावना पनि समाप्त भएको छ। आठ टोली सहभागी जारी आईपीएलमा दिल्ली १४ खेलबाट १० अंक बटुल्दै सबैभन्दा तल (आठौं स्थान) मा रह्यो। सनराइजर्स हैदराबाद, चेन्नइ सुपर किङ्स र कोलकाता नाइटराइडर्स ‘प्ले अफ’ चरणमा पुगिसकेका छन् भने ‘प्ले अफ’ मा पुग्ने एउटा टोलीको टुंगो लाग्न बाँकी छ।
अन्नपूर्ण पोष्ट ।