७ बैशाख २०८१, शुक्रबार
Follow Us

तरकारीवालीले मेगा कलेजमा नि:शुल्क पढ्न पाउने

sarusaru
७ जेष्ठ २०७५, सोमबार ०३:४३

काठमाण्डौ -तरकारीवालीको नामले चिनिएकी कुशुम श्रेष्ठले ब्याच्लरदेखि डिग्रीसम्म नि:शुल्क पढ्न पाउने भएकी छिन् । १२ कक्षाको परिक्षा दिएर बसिरहेकी उनलाई अब काठमाडौंको बबरमहलमा रहेको मेगा कलेजले डिग्रीसम्मको शिक्षा नि:शुल्क प्रदान गर्ने भएको छ ।

चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको तश्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि कुशुम रातारात चर्चामा आएकी थिइन् । उसैबेला चितवनको रत्ननगरस्थित क्विस्ट मोडलसँगको सहकार्यमा हाल दोस्रो सातामा प्रदर्शनरत फिल्म ‘लम्फू’ का निर्माता शक्तिबल्दभ घोरासैनी (पपुलर मल्टिमीडिया प्रा.ली.) ले कक्षा ११ र १२ का लागि छात्रवृति प्रदान गरेको थियो ।

यस्तै, सोही क्रममा कुशुमलाई काठमाडौंको मेगा कलेजको सहकार्यमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनका लागि छात्रवृति प्रदान गर्ने ‘लम्फू’ टिमसँग सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार कुशुमले अब बाँकी अध्ययन मेगा कलेजमा गर्ने भएकी छिन् । आइतवार कुशुमसहित ‘लम्फू’ टिमले मेगा कलेज पुगेर अवलोकन गरेका छन् ।

निर्माता शक्तिबल्दभ घोरासैनीले आफूहरुले गरेको वाचा अब पूरा गरेको बताए । उनले भने, ‘कुशुमको तश्बिर भाइरल भएपछि हामीले उनलाई अध्ययनमा सहयोग गर्ने जुन वाचा गरेका थियौं अब त्यो पूरा गरेका छौं । हामीले अब मेगा कलेजलाई कुशुमको बाँकी अध्ययनको अभिभारा सुम्पिएका छौं ।’

तरकारीवाली कुशुमलाई कलेजका अध्यक्षसहित शिक्षकहरुले स्वागत गर्दै कलेजको भम्रण गराएका छन् । कुशुमले मेगा कलेजमा अध्ययन गर्न पाउँदा अत्यन्त खुसी भएको बताइन् । उनले भनिन्, ‘अहिले मेरो प्राथमिकता भनेकै अध्ययन हो । राम्रो कलेजमा पढ्न पाउँदैछु । उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु ।’

‘लम्फू’ का निर्देशक गोपालचन्द्र लामिछाने र अभिनेता सञ्जित भण्डारी पनि कुशुमसँग कलेज पुगेका थिए । दुवैले तरकारीवालीलाई डिग्रीसम्मको अध्ययन नि:शुल्क गर्न सहयोग गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद दिए । कुशुम हाल प्रदर्शनरत फिल्म ‘लम्फू’ की अभिनेत्री समेत हुन् ।