April 1, 2020

गोर्खा कप हेर्न १० हजार दर्शक आउने

  21st May 2018 मा प्रकाशित

लन्डन । बेलायतमा नेपालीको सबैभन्दा वृहत फुटबल प्रतियोगिता गोर्खा कप यसपटक अझ व्यापक बनाउन आयोजक तमुधिं यूके जुटेको छ ।

तमुधिं यूकेको आयोजनामा हुने गोर्खा कप १६ औं सस्करणको तयारी सम्बन्धि जानकारीका लागि आइतबार मीचेटस्थीत तमुधी युकेको भवनमा संस्थाका अध्यक्ष ज्ञाम गुरुड्गको अध्यक्षतामा एक पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्बजनिक गरियो ।

आगामी आइतबार मे २७ का दिन अल्डरसटस्थित क्वीन्स एभिन्यू स्पोर्टस मैदानमा हुने १६ औं गोर्खा कपको तयारी अन्तिम चरणमा छ । ९ ए साइड उक्त प्रतियोगिता फिफाकै नियम अनुसार खेलाइने तमुधिं यूकेले जनाएको छ ।यस वर्षको गोर्खा कपमा कुल ४२ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । ३२ नन भेट्रान (मेन क्याटेगोरी) र १० भेट्रान टिमबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा हङकङ, बेल्जियम र हल्याण्डबाट समेत खेलाडी आउने भएका छन् ।

पत्रकार सम्मेलनमा तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङ, महासचिव कृष्ण गुरुङ, कार्यक्रम संयोजक एवं स्पोर्टस सेक्रेटरी क्याप्टेन पिताम्बर गुरुङ, सहसंयोजकहरु कुसाङ गुरुङ र कुमार गुरुङले गोर्खा कपबारे विस्तृत जानकारी दिए । कुसाङ गुरुङ र कुमार गुरुङले टिम क्याप्टेन, मिडियाकर्मी र तमुधिं पदाधिकारीहरुमाझ टिम ड्र गराएका थिए ।

कार्यक्रम संयोजक क्याप्टेन पिताम्बर गुरुङले उक्त इभेन्ट हेर्न १० हजार बढि दर्शक उपस्थित हुने विश्वास व्यक्त गर्दै आपतकालिन सेवा जस्तै एम्बुलेन्स, प्रहरी बल, टवाइलेट र कार पार्क सुविधा, खाना आदिको व्यवस्थापन भइसकेको बताए

गोर्खा कपको विशेष आकर्षणहरुमा एफए कप डिस्प्ले, ब्रिगेड व्याण्ड डिस्प्ले, प्यारासुट डिस्प्ले, मार्सल आर्टस, मिलिट्री डिस्प्ले, पञ्चे बाजा, पाइपर धुन, कल्चरल डान्स, खुकुरी डान्स, खाना, हस्तकला सामाग्री, कमर्सियल र च्यारिटी स्टल आदि हुने छन्।

१६ औं गोर्खा कपको पुरस्कार राशी वृद्धि गरिएको छ जसमा नन भेट्रान (मेन) वीनरको पुरस्कार राशी २५ सय पाउण्ड छ । नन भेट्रानतर्फ रनरअपले १५०० पाउण्ड, भेट्रानतर्फ पहिलो विजेता टिमले १२०० पाउण्ड र दोश्रो हुनेले ८०० पाउण्ड पाउनेछन् ।

यसैबीच गैर आवासीय नेपाली संघ बेलायतले निशुल्क स्वास्थ्य शिविर राख्ने भएको छ । खानाका कम्तीमा दश वटा स्टल र हस्तकलाका ४० बढि स्टल रहने बताइएको छ । करिब एकसय २० जना स्वयंसेवक खटिनेछन् भने कार्यक्रम गर्न करिब ४५ हजार पाउण्ड खर्च हुने छ।

संस्थाका महासचिव कृष्ण गुरुङले संचालन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष नन्दजंग गुरुङले स्वागत मन्तव्य दिएका थिए ।

बेलायतमा प्रथम गुल्मेली नौ मति पन्चे बाजाको धुन संगै आरम्भ गरिने बताउदै तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले गोर्खा कप विदेशमा बस्ने नेपालीको सबैभन्दा ठूलो कुम्भ मेलामा सहभागिताका लागि समस्त नेपाली समुदायमा आव्हान गरेका छन् ।
फोटो – शिव भण्डारी

प्रतिक्रिया