७ बैशाख २०८१, शुक्रबार
Follow Us

गोरे पक्राउ परेसँगै ३३ किलो सुन काण्ड नयाँ मोडमा

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०७५, मंगलवार ०९:१६

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । उनलाई काठमाडौंको गौरीघाटबाट मंगलबार बिहान साँढे पाँच बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा बसेको छानविन समितिले पत्रकार सम्मेलन गरी गोरे पक्राउ परेको जानकारी दिएको छ ।

गोरे उपनामले चिनिने उप्रेतीको घर मोरङको उर्लाबारी हो । प्रहरी उच्च अधिकारीसँगको मिलेमतोमा उनले सुन तस्करी गर्दै आएका थिए । साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्याबारे छानविन गर्न बनेको सरकारी टोलीका अनुसार ‘गोरे समूहले पछिल्लो चार वर्षमा मात्र झन्डै ३८ क्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।

होटलका कोठालाई अफिस बनाउथे गोरे चुडामणि उप्रेती ‘गोरे’ ले आर्थिक कारोबारका लागि विभिन्न होटलहरुलाई कार्यालयको रुपमा प्रयोग गर्ने गरेको खुलेको छ । सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समिति स्रोतका अनुसार गोरेले होटलहरुमा आर्थिक कारोबार गर्थे । स्रोतका अनुसार सुरुमा सनम शाक्यले गोरेको ‘एकाउन्टेन्ट’ को काम गर्ने गरेका थिए ।

गोरेका विश्वासपात्र बनिसकेका उनले सुन तस्करीमा पनि सघाउँथे । तर, सनमले पछिल्लो समय भने गोरेसँग दुरी बढाउन खोजेपछि गोरेले ६ लाख रुपैयाँ खर्च गरेर नयाँ ‘एकाउन्टेन्ट’ झिकाएका थिए । झापाको दमकमा उनले नयाँ अखडा खोलेको भेटिएको छ । नयाँ एकाउन्टेन्टलाई गोरेले मासिक १ लाख दिएका थिए । छानबिन समितिले बरामद गरेको भिडियोमा गोरे स्वयले सनमप्रति लक्षित गर्दै भनेका छन्, ‘तँ मेरो सबैभन्दा विश्वासिलो पात्र थिइस् । तलाई कामको धेरै भार भयो भनेर नयाँ एकाउन्टेन्ट ल्याएँ । ६ लाख खर्च गरेर दमकमा अफिस राखेँ । एक लाख रुपैयाँ दिएर हिसाब किताब हेर्ने मान्छे पनि राखें ।’ तर, साढे ३३ किलो सुन हराएपछि गोरे र उनका सहयोगीले यातना दिने क्रममा सनमको मृत्यु भयो ।

सनमको हत्यापछि नै गोरे समूहको सुन तस्करीको पोल खुलेको हो । ६ लाख खर्चेर ल्याएको एकाउन्टेन्ट खोज्दै समिति यो मुद्दामा जिल्ला अदालत मोरङमा बहस भइरहेको छ भने छानबिन समितिले पनि काम गरिरहेको छ । समिति अहिले गोरेको लगानीका साथै उनको अखडा र एकाउटेन्टको खोजीमा छ । ‘दमकका दुई तीन वटा होटल हाम्रो शङ्काको घेरामा छन्’, छानबिन समिति स्रोतले भन्यो, ‘हामी सुक्ष्म अध्ययन गरिरहेका छौं ।’