६ चैत्र २०८०, मंगलवार
Follow Us

एनआरएन स्याटलाइट अर्गनाइजेशन हो : अध्यक्ष भवन भट्ट

नेपालब्रिटेन डट कम्
१० जेष्ठ २०७५, बिहीबार ०८:०३

गैरआवासीय नेपाली संघका भवन भट्ट अहिले चर्चाको शिखरमा छन् । गतअक्टोवर महिनामा उनले संघको नेतृत्व समाले पछि उनी एकाएक चर्चामा आएका हुन् । गैरआवासीय नेपाली संघको अभियानमा भट्टको कार्यकाल कस्तो रह्यो ? जापानका सफल नेपाली उद्यमी हुन्। जापान र युरोपमा रेष्टुराँ, रिसोर्ट र होटलमा उनको लगानी छ। नेपालमा होटल, ब्रुअरी, सञ्चार, शिक्षा, अटोमोबाइलमा लगानी गरेका भट्टसंग गरिएको कुराकानी ।

अध्यक्ष पदमा निर्वाचित भइसकेपछि तपाईका प्राथमिकता के के कुरामा रहँदै आएको छ ?
म मेरो भन्दा पनि हाम्रो भन्न रुचाउँछु, खासगरी सन् २००३ देखि नै हाम्रो प्राथमिकता मुलुकको समृद्धि रहेकाले स्वतः मेरो प्राथमिकता पनि मुलुकको समृद्धि नै हो । अब मुलुकको समृद्धिका लागि विविध आयामहरु रहेका छन् जस्तै आर्थिक, सामाजिक विकासका कुरा, पर्यटन, हाइड्रोपावर, शिक्षा, स्वास्थ्य लगायतका कुरा, यी सबै पक्षमा कसरी सहयोग पुर्याउन सकिन्छ भनेर नै अहिले काम भइरहेको छ । त्यसका लागि लगानी कसरी भित्र्याउने र विदेशमा रहेका सीप, दक्षतालाई कसरी भरपूर प्रयोग गर्न सकिन्छ भन्ने पक्षमा जोड दिइरहेका छौँ । संसारभर छरिएर बसेका आम नेपालीहरुलाई एकबद्ध गर्दै एकैसाथ मिलेर मुलुकप्रतिको थप जिम्मेवारी र अपनत्व दुवै महसुस गरी अघि बढ्न सकियोस् भन्नेमा नै हाम्रो जोड रहेको छ । हिजोका दिनमा हाम्रो ध्यान लगानी कसरी भित्र्याउन सकिन्छ भन्नेमा थियो भने आजका दिनसम्म आइपुग्दा लगानी मात्रै होइन दक्षता, सीप र वौद्धिकतालाई भित्र्याउनेतर्फ पनि लक्षित रहेको छ ।

एनआरएनको नयाँ अध्यायको शुरुवात भन्नुभएको थियो । अध्यक्ष भएको ६ महिना बितिसकेका छन्, तपाईले अघि सारेका योजना तथा रणनीतिहरु कसरी कार्यान्वयन भइरहेका छन् < हो, मैले सुरुवातमा मेरा एजेन्डा राख्दा एनआरएनए भर्जन टु अर्थात दोश्रो अनि नयाँ अध्याय भनेको थिएँ । अहिले त्यसमै लागेको छु । नयाँ अध्यायको शुरुवात भनेको संस्था बलियो बनाउनु हो । हामीले २००३ देखि नेपाल र नेपाली जनताको आर्थिक विकास अनि समृद्धि भन्दै आएका छौँ । त्यसको लागि संस्थालाई बलियो बनाउनु पर्यो । यसमा रहेका सदस्यहरुको व्यवपस्थापन गर्नुपर्यो । नेपाल सरकारसँग हाम्रो प्राथमिक अनुरोध भनेको हामीलाई पहिचान मिल्नुपर्ने, वैधानिक रुपमा संस्था दर्ता हुनुपर्ने लगायतका जति पनि थिए ति सबै सकिसकेका छन् । नेपाली नागरिकताको निरन्तरताको कुरा संविधानमा आइसकेको छ । अब हामी दोश्रो अध्यायमा छौँ । यो समय भनेको एनआरएनएले के गर्ने र के दिने भन्ने कुराहरुमा जोड दिने हो । जुन कुरालाई मूलधारमा ल्याउने प्रयास अहिले भइरहेको छ । तसर्थ जसरी विश्वका विभिन्न स्थानमा पुगेर पनि आफ्नो ज्ञान, सीप, दक्षता र वुद्धिमताले ति मुलुकको विकासमा नेपालीले योगदान पुर्याइरहेका छन् त्यही ज्ञान, सीप दक्षता र वुद्धिमतालाई अव हाम्रो आफ्नै मुलुकमा प्रयोग गर्ने भन्ने कुरामा हाम्रो ध्यान जानु जरुरी छ । आर्थिकदेखि प्राकृतिक, प्राविधिक एवं हरेक विषय जसमा हाम्रै दाजुभाइ दिदीबहिनी अब्बल छन् र विदेशमा अनुभव बटुलिरहेका छन् भने ती कुरालाई मुलधारमा ल्याई स्वदेशको विकास निर्माण र समृद्धिमा समाहित गराउनु पर्छ भन्नेमा नै अहिले हाम्रो टिम लागिपरेको छ । देशमा नयाँ संविधान अनुसार निर्वाचन भएर सरकार बनेको छ । अब सिंगो मुलुकको एजेण्डा नै आर्थिक क्रान्ति अर्थात समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनु पर्छ । सरकार, स्वदेशमा बस्ने नेपाली र प्रवासमा बस्ने नेपाली सबै मिलेर देशको आर्थिक उन्नतिमा लाग्ने उपयुक्त समय आएको छ । सरकार यस निम्ति सकारात्मक पनि देखिएको छ । नयाँ युगको शुरुवात भनेको यहि हो । हामी विदेशमा रहेका एनआरएनहरुले देशको समृद्धिको लागि योगदान दिने महत्वपूर्ण समय भनेकै अहिले हो । अहिले विदेशी लगानी भित्र्याउनको लागि सुनौलो अवसर प्राप्त भएको छ । एनआरएनए एउटा टिम हो हामी सबैले चाहँदा देशका लागि धेरै काम गर्न सकिन्छ । एनआरएनएमा म होइन हामी र मेरो होइन हाम्रो कामलाई अघि बढाउनुपर्छ भन्ने नै संस्थागत मान्यता हो । त्यसैले मैले अहिले यही कुरामा जोड दिइरहेको छु । एनआरएनले उठाएका धेरै एजेण्डामध्ये दोहोरो नागरिकताको कुरा संविधानमा त उल्लेख भयो तर पनि ऐन बन्न बाँकी छ । यसको कार्यान्यवनको लागि कस्तो पहल भइरहेको छ < एउटा कठिन संक्रमणकालबाट गुज्रिएर प्राप्त संविधान, संविधान अनुरुपको संघीयता, सोही आधारमा महत्वपूर्ण निर्वाचनहरु सम्पन्न भइसकेका छन् । हेर्नुस् त यो सबै प्रक्रियागत हिसाबमै अघि बढिरहेका छन् नि हो यसरी नै एनआरएनहरुको नागरिकता सम्बन्धी व्यवस्था संविधानले अंगिकार गरिसकेको अवस्थामा कार्यान्वयन भनेको त एउटा प्रक्रिया न हो । त्यसैले प्रक्रियागत रुपमा यो व्यवस्था लागू हुनेमा म विश्वस्त छु । नेपालमा हामीले कामै गर्न नसकेको, लगानी नै गर्न नपाएको अवस्था पनि त छैन नि । तर काम गर्दै जाँदा समस्या आउन नदिन र पहिचान अर्थात राज्यले गैरआवासीय भन्दा पनि विदेशी नागरिकता लिन बाध्य भएका नेपालीहरुलाई नागरिकताको निरन्तरताको प्रावधानबाट समेटिदिँदा काम गर्न र खुलेर लगानी गर्न थप उत्साह मिल्छ भन्ने हो । यो अवस्थाले कानुनीरुपमा पनि नेपालमा कोही नेपाली पराइ हुनुपर्ने बाध्यता आउँदैन । यसको कानूनी पक्ष हेर्न र सरकारसँग सहकार्य गर्न हाम्रो छुट्टै टिम पनि छ । हाम्रो टिमले आवश्यक पहल गरेर यो विषयलाई टुंग्यायने छ । ‘स्मार्ट एनआरएनए’ बनाउने भन्ने तपाईको योजना कसरी अघि बढिरहेको छ ?
नेपालीहरु विश्वका हरेक देशमा पुगेका छन् । इनोभेसन र बौद्धिक कार्यमा पनि संलग्न छन् । विकसित मुलुकहरुले गरेका राम्रा प्राविधिक एवं अन्य किसिमका इनोभेसनहरुलाई नेपाल भित्र्याउने अवधारणालाई मैले स्मार्ट एनआरएन भनेको हो । एयरपोर्ट सफाई पनि स्मार्ट एनआरएनएकै एउटा उदाहरण थियो । हामीले ल्याएको त्यो टोक्निोलोजी अष्ट्रेलियाको थियो । हामीले एक एनसिसि एक परियोजनाको अवधारणा अघि सारेको पनि यसैका लागि हो । प्रत्येक नेपालीले आफूसँग भएको सीप क्षमता र आइडिया नेपालमा प्रयोग गर्न सकियोस् भन्ने हाम्रो चाहना हो । त्यसको आवश्यकता किन र केका लागि भन्ने विषयमा अध्ययन गर्दै उनीहरुलाई मूलधारमा ल्याउने हाम्रा योजना अघि बढिरहेको छ । स्मार्ट अर्थात यो भनेको स्मार्ट वे अफ थिङकिङ पनि हो । यही अवधारणा अनुरुप आगामी अक्टोबरमा हामी विज्ञ सम्मेलन पनि गर्दैछौं । योजना कार्यान्वयन प्रक्रियागत रुपमै अघि बढेको छ ।

सरकारले गैर आवसीय नेपालीका ज्ञान, सीप, दक्षता र वौद्धिकतालाई नेपाली विकास र समृद्धिका लागि भित्र्याउने नीति तथा योजना अघि सारिरहेको छ, यो विषयमा तपाईहरुको सरकारसँग सहकार्य कस्तो रहनेछ ?
पक्कै पनि, एनआरएनए अभियान मुलुकको विकास र समृद्धिका लागि दिगो र महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ । गैर आवसीय नेपालीहरुको तर्फबाट मुलुकका लागि भएको लगानी र परोपकारी सहयोगले स्वदेशमा हामी प्रतिको आशा र भरोसा त बढाएको थियो नै, पछिल्लो समय भूकम्पपछिको पुनर्निर्माण, पर्यटन क्षेत्रमा चालेका कदम, आर्थिक पाटोमा अघि सारेका रणनीतिहरुप्रति सरकार समेत पूर्ण रुपमा सकारात्मक देखिएको छ । यो अवस्थामा सरकारले अघि सारेको यो योजनामा हामी शतप्रतिशत सकारात्मक छौँ । साँच्चै भन्नुपर्दा हाम्रो चाहाना पनि त यही होकि हामीले विदेशमा प्रयोग गरिरहेको ज्ञान, सीप आफ्नै मुलुकमा प्रयोग गर्न पाउँ भन्ने । अब सरकारले नै यसरी आह्वान गर्दा त सुनमा सुगन्ध नै भयो । लगानीको अनुकुल वातावरण पाए जो कोही नेपाली पनि विदेशमा कमाएको पूँजी नेपालमा लगानी गर्न तयार छ । यति मात्रै होइन आफ्नो ज्ञान, सीप, दक्षता र वौद्धिकतालाई प्रयोग गरेर नयाँ अनि समृद्ध नेपालको परिकल्पना पूरा गर्न अत्यन्तै लालायित पनि छन् जस्तो मलाई लाग्छ । हाम्रो अहिलेको प्रमुख प्राथमिकता पनि यिनै विषयमा केन्द्रित रहेका छन् ।

भनेपछि, सरकारको यो योजनाले चाँडै मूर्त रुप लिन्छ ?
पक्कै, यसमा दुइमत नै छैन । वर्तमान सरकार हाम्रो संस्था र हामीले गर्न खोजेका काम प्रति सकारात्मक पाएका छौँ । म स्वयं हाम्रो टिमका साथ प्रधानमन्त्री ज्यू, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालयमा पुगी हाम्रा भिजन र हाम्रा मेकानिजमबारे जानकारी गराएको छौं । त्यो भन्दा अघि पनि हामीले घितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, राष्ट्र बैंक, नागरिक लगानी बोर्ड लगायतका सचिवज्यूहरुसँग भेटेर हाम्रा लगानीका बारेमा, हाम्रा मेकानिजमका बारेमा छलफल गरेका थियौँ । वास्तवमा हामीले उहाँहरुबाट निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ । हाम्रो एजेण्डामा पनि समावेश साझा लगानी संयन्त्रको योजना अघि बढाएका छौँ र लगानीको एउटा नेटवर्क खडा गर्ने योजना पनि अघि बढाएका छौँ, जसलाई सरकारले सकारात्मक रुपमा लिएको छ ।

एनआरएनएले सबैलाई एकैसाथमा लिएर जान नसकेको भन्ने विवाद नि सुनिन्छ नि ?
म त्यो कुरालाई कसरी लिन्छु भने, एनआरएनए एउटा अभियान हो । यसमा कोही काखा कोही पाखा छैन । हाम्रो नारा नै सबै हात एकै साथ भन्ने छ । वास्तवमा सत्य यहि नै हो । एनआरएनए भनेको एउटा स्याटलाइट अर्गनाइजेशन हो । हामी अधिकांश समय बाहिरै हुन्छौँ । मेरै कुरा गरौँ न, म जापानमा बस्छु । सबैभन्दा धेरैपटक नेपाल आउने भनेको महिनामा तीन पटक हो । अब त्यतिले मात्रै त पुग्दैन नि । त्यही अभाव व्यवस्थापन गरि समयसापेक्ष रुपमा यो अभियानलाई एउटा गति प्रदान गर्न आवश्यक थियो । त्यसैले हामीले के गर्यौ त भन्दा हाम्रा सल्लाहकारहरु छान्दा नेपालमै बस्ने, यहीका नीति नियममा अभ्यस्त र स्वभाविक रुपमा हाम्रो अभियान बुझिरहेका व्यक्तिहरु छनोट गर्यौ । जस्तै बार एशोशिएशनको अध्यक्ष हाम्रा कानूनी सल्लाहकार हुनुहुन्छ, उद्योग वाणिज्य महासंघको अध्यक्ष आर्थिक सल्लाकार, पत्रकार महासंघको अध्यक्ष प्रेस सल्लाकार हुनुहुन्छ । अबको समय आरोप प्रत्यारोपमा खर्च नगरी कसरी यो साझा अभियानमार्फत मुलुकको समृद्धिमा केन्द्रित हुने भन्ने हो । अब बुझ्नुपर्ने कुरा के छ भने, यो हाम्रो अभियान हो र यसलाई अझै सुदृढ र सफल बनाउन हामी सबै गैरआवासीय नेपाली मिल्नुको विकल्प छैन । हामीले एक अर्कालाई साथ दिने र सहयोग गर्ने हो । आलोचनामा समय खर्च गर्नुको औचित्य छैन । त्यसैले सबैले सकारात्मक सोचको विकास गर्नु जरुरी छ ।

स्वदेशमा लगानीको वातावरणलाई प्रभावकारी बनाउन कस्तो पहल भइरहेको छ
अहिले हाम्रो सम्पूर्ण ध्यान नै स्वदेशमा लगानीको वातावरण निर्माण गर्नेमा केन्द्रित छ । पहिलेको कुरा गर्दा सरकारलाई लगानीमैत्री नीति बनाउनका लागि नै दवाव दिनुपर्ने अवस्था थियो, तर अहिले त्यस्तो अवस्था छैन । सरकारले पनि लगानीको लागि बाटो खुल्ला गरिसकेको अवस्था छ । अझ लगानीको सुरक्षा लगायतका विषयमा सरकारसँग लबिङ गर्नेदेखि सहजीकरणको काम भइरहेको छ । डेढ वर्षमा १० अर्ब संकलन गर्ने योजना हाम्रो छ, यो रकम संकलन हुनेबित्तिकै, यहाँ लगानी गर्ने, साझेदारीमा काम गर्ने योजना रहेको छ । मैले जुन १० अर्ब भनेको छु नि यदि त्यो लगानी फाइदामा गयो भने त्यही लगानीबाट अर्को एक सय अर्ब आर्थिक शक्ति उत्पादन हुन्छ । त्यो भन्नुको मतलव मुलुकलाई आर्थिक रुपमा थप सबल बनाउन टेवा त पुग्छ नि । यो अवधारणा त आजको होइन नि २००५ देखिकै हो । त्यतिखेर हाम्रा अग्रज डा उपेन्द्र महतो अध्यक्ष हुनुहुन्थ्यो । त्यतिबेला भन्दा आज समयमा धेरै परिवर्तन आइसकेको छ । आजको दिनसम्म आइपुग्दा एनआरएनए अभियान नतिजामुखी बाटोमा अघि बढिसकेको छ भने हामी प्रतिको विश्वास पनि बढ्दै गएको छ । यो भनेको तपाई मेरो एक्लो प्रयासले होइन, हामी सबैको साझा प्रयासले सम्भव भएको हो ।
अर्को कुरा नेपालमा अहिले पनि विदेशी लगानी कर्ताको लागि बनेका नियम कानुन निकै पुराना छन्, जुन नियम कानुनले विदेशी लगानीकर्तालाई आकर्षण गर्दैन । अब भन्नुस् न, २०३२ सालदेखिका ऐनहरु अहिलेसम्म कायम छन् । यदि विदेशी लगानी भित्राउने हो भने ती ऐन कानुन संशोधन गर्नु पर्छ । तर, विदेशी लगानी कर्ताको लागि बनेका जति पनि नियम कानुन छन् ती सबै अहिले नै परिवर्तन गर्नसक्ने अवस्था नेपालमा देखिदैन । हामीले यो पक्षलाई ख्याल गर्दे आवश्यक पहल गरिरहेका छौ । सरकारसंग लगातार हामीले छलफल पनि गरिरहेका छौं ।
अहिलेको अर्को मुद्दा भनेको वैदेशिक रोजगारीमा गएकाको सुरक्षा पनि हो, धेरै नेपालीहरु विदेशमा अलपत्र भएका छन्, दुख पाइरहेका छन्, यो मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ < सबै भन्दा पहिले व्यक्ति आफै सचेत हुनुपर्छ । अर्को महत्वपूर्ण कुरा भनेको उनीहरुको बीमाको अनिवार्य व्यवस्था हो । यी सबै नहुँदा पनि सरकारसँग मिलेर हामीले विदेशमा अलपत्र परेका, समस्यामा परेकाहरुको उद्धार गर्ने गरिरहेका छौं र यसलाई अझ व्यवस्थित बनाउने योजना तयार गरिरहेका छौं । यसनिम्ति एउटा विशेष कोष बनाएर उनीहरुलाई आवश्यक पर्दा सहयोग गर्ने, विदेश जानुअघि नै उनीहरुलाई सीप तथा भाषाको जानकारी दिने लगायतका विषयमा हामीले काम गर्नु जरुरी छ ।
पुर्व कार्यसमितिले नै सुरु गरेका मेगा प्रोजेक्टहरु पुरा गर्न बाँकी छन् नि तिनीहरुको कार्यप्रगति के कस्तो भइरहेको छ ?

लाप्राक नमुना बस्तीको निर्माण कार्य यो दुईवर्षमा कुनै पनि हालतमा पुरा गर्छौ । शंखमुल पार्क पनि अब लगभग २० प्रतिशत काम बाँकी छ । हाम्रो भवनको ७५ प्रतिशत काम सकिइसकेको छ । लाप्राकमा हिजो काम मात्रै सुरु भएको थियो, तर अहिले त्यो कामले गति लिइसकेको छ । पहिले भनेको भन्दा अलिकति राम्रो र बलियो सामाग्री प्रयोग गरेर त्यति नै लागतमा घर निर्माण गरिरहेका छौँ । घर त बनाउने तर जस्ताले, बाँसले बारेर भन्दा मोर्डन सामाग्री प्रयोग गरेर घर बनाउँदा दिनेलाई पनि दिएजस्तो हुने र लिनेलाई पनि लिएजस्तो हुने एक किसिमको अनूभूति हुन्छ भन्ने हाम्रा धारणा हो । सोही अनुसार उति नै लागतमा सम्भव भएसम्म आधुनिक र आकर्षक घर निर्माण भइरहेको छ । भौगोलिक रुपमा निर्माण सामाग्री लैजान गाह्रो भो भनेर हामीले इँटा त्यहि बनाउँदैछौं र काठहरु स्थानीय स्तरमा व्यवस्था गरेका छौँ ।
अर्को कुरा हामीले संसारभरबाट नेपालमा लगानीकर्ता लैजाने र देशको विकासको लागि भूमिका निर्वाह गर्नु अबको आवश्कता हो । एनआरएनको फाउन्डेसन निर्माणलाई मूर्त रुप दिन्छौँ । विकट ठाउँमा अहिले पनि धेरै मानिसहरु उपचारको अभावको कारण अकालमा ज्यान गुमाउनु परेको छ । त्यसकारण टेलिमेडिसिनको माध्यमबाट दुरदराजका जनताको पहुँच स्वास्थ्यकर्मी र स्वास्थ्य सेवासँग पुगोस् भनेर पहल गरिरहेका छौँ ।

लाप्राकमा घरको स्वामित्व हस्तान्तरण गर्नुभयो ? घर निर्माण पूरा नभई हस्तान्तरण गर्नुको कारण के हो ?
एनआरएनएसँग एक वर्षअघि घर निर्माणसम्बन्धी सम्झौता गरेका लाभग्राही परिवारलाई गोलाप्रथा मार्फत घरको स्वामित्व हस्तान्तरण गरिएको हो । भन्नुको मतलब अहिले घर आधिकारिक रूपमा हस्तान्तरण गरेको भन्दा पनि पुनर्निर्माणमा भूकम्पपीडितको आफ्नोपन महशुस होस् भनेर छुट्याइदिएका हौँ । पुनर्निर्माणमा आफ्नो घरमा लाभग्राहीको थप सहयोग हुने अपेक्षा गरेका छौँ । निर्माणाधीन ५ सय ७३ वटा घर निर्माण सम्पन्न हुने बित्तिकै हस्तान्तरण गर्ने गरी हाललाई स्वामित्व मात्रै छुट्याइएको हो । हामीसँगको सम्झौतामा पनि त लाभग्राहीले घरको जगमा लाग्ने ढुंगा, गिटी र काठ आफैंले उपलब्ध गराउनुपर्ने उल्लेख छ । कसको घर कुन हो भन्ने जानकारी नहुँदा सम्म ति सामग्री पाउन पनि सहज भएन र सहयोग पनि अपेक्षाकृत पाउन सकिएन । अहिले हामीले गरेको कुरा भनेको आफ्नोपन जगाउने काम मात्रै हो । मेरो घर यो हो भन्ने थाहा भए पछि स्थानीय जनताको सहयोग र सामाग्री पाउनेका स्वाभाविक रुपमा बढ्ने छ र निर्माणकार्य छिटो सम्पन्न गर्न सहयोग पुग्ने छ भन्नेमा हामी विश्वस्त छौं ।

पर्यटन प्रवद्र्धनको लागि के कस्ता योजना ल्याउनु भएको छ ?
हामीले सुरु गरेको अतिथि देवो भवको अभियान जारी छ । प्रत्येक गैरआवासीय नेपालीले सकेसम्म आफ्नो पहलमा नेपाल भ्रमणका लागि वातावरण मिलाउन हामीले अनुरोध गरेका छौं । एयरपोर्ट सफाइ, नमस्ते अभियान लगायत अघि बढेका छन् । आफ्नो मुलुकको छवि राम्रो बनाऔं र सबैलाई देश प्रति आकर्षण पैदा गरौँ भनेर प्रत्येक कार्यक्रममा हामीले भन्ने गरेका छौँ । सामान्य पर्यटकले एक प्लेट मम खाए पनि देशको लागि राम्रो हो । हामीले सबैलाई भन्ने गरेका छौँ कि यसले यो गर्ने त्यो गर्ने भन्दा पनि हामी मिलेर गरौँ । आज हेर्नुस् त नेपालको कुटनीतिक नियोग ३३ वटा राष्ट्रमा मात्रै छ तर हामी गैर आवसीय नेपालीको सञ्जाल ७८ राष्ट्रमा छरिएको छ । त्यसैले हामीले ती प्रत्येक ठाउँमा नेपालको बारेमा प्रचार गर्न नमस्ते, माया र धन्यवाद जस्ता शब्दहरुको महत्व नेपालमा कत्तिको छ, आतिथ्यको संस्कार कस्तो छ, त्यो बुझाउन सक्नुपर्यो । कम्तीमा वर्षमा २-३ पटक भएनि नेपाली फेष्टिभल गरौँ भन्ने अवधारणालाई हामीले जोड दिएका छौँ । सकारात्मक सोचका साथ काम गरेको खण्डमा सबैले नेपालमा योगदान गरेको आभास हुन्छ । हरेक एनआरएन राष्ट्रको सदभाव दुत हौँ भन्ने महशुश गरेर त्यसै अनुसार काम गर्नु पर्छ । मातृभूमिप्रतिको दायित्व महसुस गरेर र गराएर नेपालप्रतिको आकर्षण बढाउन सकिन्छ ।


अन्त्यमा केही भन्न चाहानुहुन्छ कि?

हामी भनेको अन्तर्राष्ट्रिय पहरेदार हौँ । सरकारले, जनताले र अब संविधानले पनि हामीलाई देशका लागि केही गर्ने माहोल मिलाइदिएको छ । त्यसैले यो एउटा अवसर पनि हो र चुनौती पनि हो । त्यसैले हामी सबै गैरआवासीय नेपालीहरु मिलेर अघि बढौँ । आर्थिक समृद्धिमा हातेमालो गरौँ । राष्ट्रलाई समृद्ध बनाउने महाअभियान शुरु भएको छ । यसमा एनआरएनको ठूलो भूमिका र दायित्व पनि छ ।
पृथ्वीनारायण शाहले त्यतिबेलाको सन्दर्भमा नेपाललाई दुई ढुंगाबीचको तरुल भनेका थिए, तर अहिलेको सन्दर्भमा म भन्छु नेपाल दुई विशाल अर्थतन्त्रबीचको अवसर हो । यहाँ गर्न सक्ने कुरा धेरै छन् । हामीले साँगुरो सोचाइ राख्नु भएन । आलोचनामा कम काममा बढी ध्यान दिनुपर्यो । मिलेर गरे विकास हुन्छ, मुलुकको समृद्धिले हाम्रै शिर ठाडो हुने हो । त्यसैले आपसी मतभेद र विचारधारालाई सकारात्मक सोचले पुर्नु आजको आवश्यकता हो । एनआरएन एउटा महाअभियान हो, मिलेर अघि बढे यो अभियान सफल हुन्छ नत्र दुर्घटना हुन सक्छ । त्यसैले हामी साथ छौँ सँगै छौँ र मुलुकको हितको पक्षमा छौँ भन्ने कुरालाई मनन गरेर अघि बढ्न म सबैलाई आह्नन पनि गर्न चाहन्छु । यो संस्था नेपालका लागि नेपालीकै लागि हो । यसमा नकारात्मक सोच फलदायी छैन । सकारात्मक सोचले सबै कामलाई सकारात्मक बनाउँछ । त्यसैले मुलुकको विकासको लागि हामी सबैको हात एकै साथ भन्ने मुल मन्त्रलाई मनन गरौँ र आपसी सद्भाव वृद्धि गरौँ ।