१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायनमा नाम र दाम दुवै छ

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७५, बिहीबार ११:०९

मीरा पोखरेल, लोकगायिका

लोकगायन क्षेत्रमा मीरा पोखरेल चिनाइराख्नुपर्ने नाम होइन । मीरालाई ‘लाग्यो मलाई बाडुली कुक्क कुक्क’ गीतले लोकप्रियताको शिखरमा पु-याएको हो । दुई साताअघि सार्वजनिक भएको उनको ‘मेरी दिलकै रानी’ गीतले विस्तारै पिकअप लिँदैछ । लोकगायन क्षेत्रमा गायकको अवस्था, संघर्ष र मेहनतबारे पोखरेलसँग गरेको कुराकानी :

० गायनलाई पेसाको रूपमा अंगाल्नुभएको हो ?
– हो, म गायिका हुँ, विगत एक दशकदेखि गायनलाई पेसाका रूपमा अंगालेकी छु । विशेष गरी पश्चिमी भाका, फास्टविट र सालैजो गाउँछु ।

० कति भो यो पेसा अंगाल्नु भएको ?
– पेसाकै रूपमा आएको चाहिँ एक दशकभन्दा बढी भइसक्यो । त्यसभन्दा अघि पनि गायन क्षेत्रमै थिएँ ।

० प्रविधिसँग लोकगीतको क्रेज बढेको हो ?
– लोकगीतको क्रेज बढाउन प्रविधिले साथ दिएको छ, यद्यपि गाउँघरमा यसको लोकप्रियता प्रविधिभन्दा पनि अगाडि छ भन्दा फरक नपर्ला । युट्युबले गायकको पारिश्रमिकमा योगदान दिइरहेको छ ।

० तपाईंका गीत पनि युट्युबमा आउँछन् ?
– युट्युबलाई लोकप्रियताको मानक ठानिन्छ । संसारभरिबाट कति दर्शक स्रोताले गीत रुचाए भन्ने कुरा युट्युबमा देख्न सकिन्छ । त्यसकारण आफ्ना गीत युट्युबमा नराख्ने कुरै भएन । मेरो केही गीत स्रोता र दर्शकले अत्यधिक रुचाउनु पनि भएको छ ।

० युट्युबबाट आम्दानी पनि गर्नुभएको छ ?
– अहिलेसम्म युट्युबबाट आम्दानी गरिसकेकी छैन, विस्तारै सिस्टम बन्दैछ, त्यसबाट पनि आम्दानी होला भन्ने कुरामा आशावादी हुन सकिन्छ ।

० युट्युबमा राख्न गीत भिजुअलाइज गर्नुप-यो नि ?
– हो, सुरुका दिनमा लगानी आफैले गर्नुपर्छ । मैले पनि केही लगानी गरेर गीत छायांकन गरें । ‘लाग्यो मलाई बाडुली कुक्क कुक्क’ गीत लोकप्रिय बन्यो । अहिलेसम्म २७ लाखभन्दा बढी भ्युअर्स भइसके । तर प्रतिफल पाउन सकिनँ ।

० किन नि ?
– आफ्नै युट्युब च्यानल भयो भने सोझै प्रतिफल पाइन्छ । व्यक्तिगत च्यानल भन्दासंगीत कम्पनीको च्यानलमार्फत युट्युबमा राखेमा चल्छ । यसको पनि सिस्टम बन्दैछ, रोयल्टी पाइन्छ भन्ने कुरामा ढुक्कजस्तै छु ।

० लोकगायकको डिमान्ड दोहोरी साँझमा पनि हुन्छ होइन ?
– हो, पाँच सात वर्ष मैले पनि दोहोरी साँझमा गाएँ । दोहोरी साँझमा गाउँदा दोहोरो फाइदा हुन्छ । दोहोरीमा गाउँदा गायनका लागि घरमा रियाज गरिराख्नुपर्दैन, पारिश्रमिक पनि राम्रै पाइन्छ ।

० कति पारिश्रमिक हुन्छ ?
– सुरुका दिनमा चार हजार रुपैयाँदेखि गाउन थालेकी थिएँ । पछिल्लो समयमा ३०–३५ हजार रुपैयाँसम्म हुन थाल्यो ।

० गाउन जाने पुग्छ ?
– त्यति सजिलो कहाँ छ र ? जहाँ पनि संघर्ष गर्नैपर्छ । सुरुका दिनमा मैले पनि धेरै संघर्ष गरेँ । काँठे भाका आउँदैन थियो, गाउँदा गाउँदै सिनियरले माइक खोस्दिन्थे । तर म घरमा गएर अभ्यास गर्थें, आफूलाई योग्य बनाउँथे ।

० कस्ता ग्राहक आउँछन् ?
– विभिन्न खालका हुन्छन् । दोहोरी सुनेर रमाउने तथा गाउन रुचाउनेहरू समेत हुन्छन् । पारिवारिक रमाइलो मनाउनेहरू पनि आउँछन् ।

० महिला ग्राहकहरू पनि हुन्छन् ?
– सिंगल महिलाहरू प्रायः आउँदैनन्, पछिल्लो समय १०–१५ जनाको समूह बनाएर आउने गर्दछन् । उनीहरू गीतसंगीतसँगै खानपिनबाट पनि मनोरञ्जन लिन्छन् ।

० गीत गाएर जीविका चल्छ ?
– मज्जाले चलाउन सकिन्छ, यो पेसामा नाम र दाम दुवै छ । तर सुरुका दिनमा संघर्ष, मेहनत र लगनशील पनि हुनुपर्छ ।

० लोकगीतमा विकृति भित्रिएको छैन ?
– समयसँगै परिवर्तन आएको हो, त्यसलाई कसरी लिने आफैंमा भर पर्छ । दर्शकले रुचाएकाले नै ज्योति मगर हिट भएकी हुन् ।

० लोकगीतमा उत्तेजित पोसाक ठीक हो त ?
– अरुका बारेमा मलाई टिप्पणी गर्न मन लाग्दैन । तर पनि त्यस्तो ड्रेस नलगाइदियोस् जस्तो चाहिँ लाग्छ ।

० गायक बन्ने वातावरण कस्तो थियो ?
– स्याङ्जामा जन्मेकी हुँ, सानैदेखि गीत गुनगुनाउँथे । ७ कक्षा पढ्दासम्म त राम्रै गायक भइसकेकी थिएँ, पुरस्कार र सम्मान धेरै पाइसकेकी थिएँ ।

० घरको वातावरण ?
– मनबाटै गीत गाउँछु भन्ने लागेको थियो । कसैले रोकतोक गरेनन् । दिदी काठमाडौंमा हुनुहुन्थ्यो, गीत गाउनकै लागि राजधानी आएँ । १६ वर्षकै उमेरमा विवाह भयो, त्यसपछि गायनमा केही अवरोध आयो ।

० किन सानैमा विवाह गर्नुभयो ?
– पे्रममा परें, विवाह गर्दा उचित होला भन्ने ठानें ।

० कहाँ भेट भयो ?
– उहाँ कलेज पढ्नु हुन्थ्यो, म एसएलसी दिएर बसेकी थिएँ । मलाई पनि काठमाडौंमा एडजस्ट हुनुथ्यो ।

० के देखेर मन पराउनुभयो ?
– मध्यवर्गीय परिवार, काठमाडौंमा बाँच्नै पर्ने थियो । केटो पढेलेखेको छ, यत्तिको भए जीवन राम्रैसँग चल्छ भन्ने लाग्यो । एकअर्कालाई मन पराए पनि हामीले विवाह चाहिँ एरेन्ज नै गरेका हौं । अहिले हाम्रो एउटा १२ वर्षको छोरा छ ।

० छोरालाई के बनाउँदै हुनुहुन्छ ?
– हामीले बनाउने होइन, ऊ आफैं बन्ने हो । भन्न चाहिँ वैज्ञानिक बन्छु भन्छ । गीत पनि राम्रै गाउँछ, मोडलिङ पनि गरेको छ । तर आफूलाई सरकारी अधिकृत भइदियोस् जस्तो लाग्छ ।

० श्रीमान् के गर्नुहुन्छ ?
– कार्गो सप्लाइको उहाँको आफ्नै बिजनेस छ ।

० गायनमा सपोर्ट गर्नुहुन्छ ?
– सुरुका दिनमा सहयोग पाइनँ, कार्यक्रममा जान रोक्नु हुन्थ्यो, अहिले चाहिँ सपोर्ट गर्नुहुन्छ । उहाँको साथ र सहयोगले नै अहिले यो क्षेत्रमा लोकप्रियतातर्फ लम्किरहेकी छु ।

० अब कुन गीत बजारमा ल्याउँदै हुनुहुन्छ ?
– रामजी खाँणसँग गाएको ‘मेरी दिलकै रानी’ दुई साताअघि सार्वजनिक भएको छ । अहिले यो गीत धेरै दर्शक र स्रोताले मन पराइराख्नुभएको छ ।

० यो गीतबाट के अपेक्षा गर्नुभएको छ ?
– दर्शक र स्रोताको माया र पे्ररणा ।