१४ बैशाख २०८१, शुक्रबार
Follow Us

३३ किलो सुन काण्डमा तत्कालीन आईजी अर्याल र श्रेष्ठ संलग्न रहेको गोरेको बयान

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०७५, बिहीबार १४:३२

काठमाडौं । ३३ किलो सुन काण्डमा तत्कालीन जनपद प्रहरी प्रमुख प्रकाश अर्याल र सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ पनि मुछिएका छन् । मुख्य अभियुक्त भनिएका चुडामणि उपे्रती (गोरे) ले दिएको बयानका आधारमा तत्कालीन प्रहरी प्रमुखको सुन काण्डमा संलग्नता भेटिएको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको बन्द इजलासमा उनले नाम उल्लेख नगरी तत्कालीन दुवै प्रहरी संगठनका प्रमुखको संलग्न संकेत गरेका हुन् । उनले अहिलेसम्म कुनै ठूलो व्यक्तिको नाम लिएका छैनन् । भनिन्छ, ज्यान हताहत हुने डरले नै उनले कहिलेसम्म नाम भन्न सकेका छैनन् ।

बयानका क्रममा गोरेले मेरो ज्यान बचाइदिनुस् भन्ने शब्द बढी प्रयोग गरेको छन् । उनले आफ्ना ज्यान खतरामा रहेकाले प्रहरीको जिम्मामा मात्र आफूलाई नछाड्न अदालतसमक्ष उनले पटक पटक आग्रह गरेका थिए । भद्र र शिष्ट रुपमा प्रस्तुत भएका गोरेले भिडियो बनाएर किन सार्वजनिक गरेको भन्ने प्रश्नको जवाफमा गोरेले आफूलाई त्यसै गर्न निर्देशन आएकाले आफ्नो ज्यान बचाउन ‘माथिको आदेशमा’ उक्त काम गरेको बयान दिएका छन् ।