७ बैशाख २०८१, शुक्रबार
Follow Us

गोर्खा कपमा भिड्न हङकङको टोली लण्डनमा

नेपालब्रिटेन डट कम्
११ जेष्ठ २०७५, शुक्रबार १६:३४

लन्डन — हङकङका १५ खेलाडीसहित १९ जनाको टोली बिहीबार लन्डन आइपुगेको छ । मे २७ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्युमा हुने १६ औं गोर्खा कप फुटबल प्रतियोगितामा भाग लिन टोली बेलायत आएको हो ।

बिहीबार बिहान ६ बजे हिथ्रो विमानस्थलमा उत्रेका हङकङ नेपाली फुटबल टिमका मेनेजर राजीव हिराचनसहितको टिमलाई तमुधिं युकेका उपाध्यक्ष नन्दजङ गुरुङ, गोर्खा कप फुटबल इभेन्ट इन्चार्ज तथा सहारा एफसीका अध्यक्ष ले रि कुसाङ गुरुङ, तमुधिं युकेका सल्लाहकार महेश गुरुङलगायतले स्वागत गरेका थिए।

बिहीबार बिहानै तमुधिं भवन मिचेटमा आयोजित परिचयात्मक कार्यक्रममा खेलाडीहरु सहभागी भए। उक्त कार्यक्रममा इभेन्ट इन्चार्ज ले रि गुरुङ, तमुधिं युकेका महासचिव कृष्ण गुरुङ, सहारा युकेका कोषाध्यक्ष नारायण गुरुङ, टिम मेनेजर, टिम क्याप्टेन र खेलाडीहरुबीच गोर्खा कपको अनुभव आदानप्रदान भएको थियो।

तमुधिं युकेका खेलकुद सचिव एवं गोर्खा कपका संयोजक क्या. पीताम्बर गुरुङका अनुसार प्रतियोगितामा यसवर्ष नन्भेट्रानतर्फ ३२, भेट्रानतर्फ १० वटा टिमले भाग लिनेछन् ।

नन्भेट्रानतर्फ प्रथम हुनेलाई २५०० पाउन्ड र दोस्रो हुनेलाई १५०० पाउन्ड, भेट्रानतर्फ प्रथमलाई १२०० पाउन्ड र दोस्रोलाई ८०० पाउन्ड नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा करिब ४० हजार पाउन्ड खर्च लाग्न अनुमान छ ।