१५ बैशाख २०८१, शनिबार
Follow Us

मलेसिया जान बन्द, ५ वर्षमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार ०५:३२

काठमाडौं । सरकारले मलेसिया जाने नेपाली कामदारलार्इ तत्कालका लागि सबै प्रक्रिया बन्द गरेको छ । मलेसियाले भिसा प्रक्रियाका नाममा एकपछि अर्को संयन्त्र खडा गर्दै गैरकानुनी ढंगले रकम असुल्न थालेको भन्दै सरकारले उसको नीति नसच्चिएसम्म तत्काल नेपाली कामदार लैजान नपाउने बनाएको हो ।

नेपाली कामदारमाथि भार पार्ने नीति नसच्याएसम्म नेपाल सरकारले नयाँ कामदार नपठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले जानकारी दिए । मलेसियाली कम्पनीमाथि श्रमिक छनोट गर्ने प्रक्रिया सुरु गर्ने पूर्व स्वीकृतिमा समेत रोक लगाइएको उनले बताए ।

नेपाली श्रमिकको रगत-पसिनामाथि खेलबाड गर्ने जोसुकैलार्इ पनि अब सरकारले नछाड्ने बताउँदै मन्त्री विष्टले भने, ‘अबको सरकार रेमिट्यान्समा मात्रै भर पर्दैन, रेमिट्यान्सको लेखाजोख गरेर बस्दैन ।’ अबको सरकारले विगतका सरकारजस्तै रेमिट्यान्सको आशमा युवाशक्ति विदेश पलायन नगराउने भन्दै उनले आन्तरिक श्रम बजारको प्रवर्द्धन गर्ने र स्वदेशमै हुने कमाइबारे जनतालाई अवगत गराउने बताए ।

मन्त्री विष्टले देश-परदेशमा छरिएर परिश्रम गरिरहेका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याई सरकारले सुरक्षा, बिमा र अन्य सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । श्रम मन्त्रालय सबै श्रमिकहरुको ‘अभिभावक’ भएकाले संरक्षण गर्ने दायित्व मन्त्रालयकै रहेको उनको भनाइ थियो ।

अब वैदेशिक रोजगारीमा जाने युवालाई नेपाल सरकारले तलब निर्धारण गरेर मात्र श्रम स्वीकृति जारी गर्ने तयारी गरिरहेको मन्त्री विष्टले जानकारी दिए । आगामाी एक वर्षपछि वैदेशिक रोजगारमा जाने कामदार ४० प्रतिशतले घट्ने बताउँदै मन्त्री विष्टले ५ वर्षभित्रमा जसरी भए पनि ‘बाध्यताकारी वैदेशिक रोजगारी’को अन्त्य गर्ने दाबी गरे । श्रमिकको अवस्था सुधार्न उनले मजदुरमैत्री ऐन, नियम कार्यान्वयनमा ल्याउने तयारीमा मन्त्रालय रहेको जानकारी समेत गराए ।

सरकार आर्थिकफ समृद्धिको दिशामा अग्रसर भएको बताउँदै उनले देशमा कलाकारखाना र अन्य उद्योग खुल्ने क्रम बढ्दै गएको र यसले बाध्यकारी अवस्था आर्इ कामको खोजीमा विदेशिने श्रमिकको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरे ।