१५ चैत्र २०८०, बिहीबार
Follow Us

सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो : महामन्त्री कोइराला

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार १४:२३

नगरकोट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताउनुभयो ।

उहाँले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल नहुने बताउनुभयो । कांग्रेसको समाजवाद र कम्युनिष्टको समाजवादबीच आकास जमिनको फरक रहेको उहाँको भनाई थियो । कम्युनिष्टको समाजवाद व्यक्तिवादी तर कांग्रेसको समाजवाद सामूहिक भएको महामन्त्री कोइरालाको तर्क थियो ।

कार्यक्रममा महामन्त्री कोइरालाले अपांगता भएकाहरूलाई ह्विलचियर, बैशाखी, सेतो लठ्ठी, वाकर, ट्वाइलेट कुर्सी तथा झुल वितरण गर्नुभएको थियो । समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा फुयाँलका अनुसार अपांगता भएकाहरूमध्ये १७ जनालाई ह्विलचियर, तीनजनालाई वैशाखी, छजनालाई सेतो लठ्ठी, एकएक जनालाई वाकर, नेक बेन्डेज र ट्वाइलेट पट तथा एकसय १५ जनालाई झुल प्रदान गरियो ।

अध्यक्ष फुयाँलले समाजवादका ठूला कुरा गर्नुभन्दा व्यवहार महत्वपूर्ण भएकाले संस्थाले अपांगता भएकाहरूको दैनिकी सहज बनाउन सहयोग गर्नु पनि एक प्रकारको समाजवाद भएको बताउनुभयो । कार्यक्रममा गायक बुद्धिकृष्ण लामिछानेलाई ह्विलचियर प्रदान गर्दै कलाकार सरिता लामिछानेले अपाङ्गता भएका व्यक्ति समाजका दर्पणका रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले समाजका दर्पणका रुपमा रहेका अपाङ्ग व्यक्तिहरूको सम्मान गर्नु नै समाजवादको बाटोमा लम्कनु भएको बताउनुभयो ।