८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंमा रोडसेफ्टी फिल्म फेस्टिभल हुने

नेपालब्रिटेन संवाददाता
१२ जेष्ठ २०७५, शनिबार १४:३३

काठमाडौं । सडक सुरक्षाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालमै पहिलोपटक ‘काठमाडौँ रोडसेफ्टी फिल्म फेस्टिभल’ हुने भएको छ । नासा फाउण्डेसनले आगामी साउन ८ र ९ गते फेस्टिभलको आयोजना गर्न लागेको आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

फेस्टिभलमा सवारी तथा सडक दुर्घटनासँग सम्बन्धित फिल्महरू प्रदर्शन गरिनेछ । बढीमा १० मिनेटसम्मका लगभग दुई दर्जन फिल्म प्रदर्शन गरिने आयोजकले जनाएका छन् । उत्कृष्ट फिल्मलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, फेस्टिभलमा विदेशी फिल्म मध्येका उत्कृष्टलाई समेत अवार्ड प्रदान गरिनेछ ।

फिल्म फेस्टिभलका लागि ‘ग्लोबल रोडसेफ्टी फिल्म फेस्टिभल’ को समेत सहकार्य रहेको छ भने अन्य वृत्तचित्र, अन्तरक्रिया र प्रदर्शन पनि गरिने जनाइएको छ । सडक असुरक्षा संसारमा विकराल मानव निर्मित समस्या बन्दै गएको छ । सडक दुर्घटनाका कारण विश्वमा वार्षिक १४ लाख भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा वार्षिक दुईहजार भन्दा बढी व्यक्तिको मृत्युहुने गरेको छ ।

सडक दुर्घटनाका कारण सामाजिक संरचना नै धरापमा पर्ने अवस्था आएकाले त्यसमा केही हदसम्म सुधार गर्ने उद्देश्यका साथ चेतनामूलक कार्यक्रम गर्न लागिएको आयोजक नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराईले बताउनुभयो । फाउण्डेसन नासाअन्तर्गतको कल्याणकारी संस्था हो ।