८ बैशाख २०८१, शनिबार
Follow Us

नेकपा संसदीय दलको उपनेता सुवास नेम्वाङ

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार ०४:५८

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा संसदीय दलको उपनेतामा सुवास नेम्वाङलाई जिम्मेवारी दिने तयारी गरेको छ । दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ ।

यसैगरी प्रतिनिधिसभाको प्रमुख सचेतकको जिम्मेवारी देव गुरुङले र सचेतकको जिम्मेवारी शान्ता चौधरीले पाउने सम्भावना छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको भेटमा प्रतिनिधिसभा र राष्ट्रियसभाको कार्यविभाजनबारे छलफल भएको थियो ।

सो छलफलमा नेम्वाङ, गुरुङ र चौधरीको जिम्मेवारीलाई यथावत राख्ने सहमति भएको हो । यसअघि नेम्वाङ तत्कालीन एमालेको संसदीय दलको उपनेता र गुरुङ तत्कालीन माओवादीको प्रमुख सचेतकको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसैगरी सचेतक तत्कालीन एमालेबाट शान्ता चौधरी हुनुहुन्थ्यो । अब नेकपाको सचेतक पनि चौधरीलाई बनाउने तयारी छ ।

यसैबीच, राष्ट्रियसभाको संसदीय दलको नेतामा तत्कालीन माओवादीका दिनानाथ शर्मा रहने बताइएको छ । शर्मा माओवादीबाट राष्ट्रियसभामा नेता हुनुहुन्थ्यो ।  यसैगरी प्रमुख सचेतकमा तत्कालीन एमालेबाट खिमलाल भट्टराई रहनु हुनेछ ।