११ बैशाख २०८१, मंगलवार
Follow Us

तीन बर्षभित्रै काठमाडौंमा मेट्रो रेल चल्छ : प्रम ओली

नेपालब्रिटेन संवाददाता
१३ जेष्ठ २०७५, आईतवार ०८:३९

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले ३ वर्षभित्रमा काठमाडौं उपत्यकामा रेल चल्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा आज नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले अब नेपालमा रेल सपनाको कुरा मात्र नभएको बताए । उनले नेपालमा पूर्वपश्चिम मात्र हैन उत्तर दक्षिण पनि रेल कुद्ने दाबी गरे ।

आगामी ५ वर्षभित्रमा काठमाडौंबाट रक्सौल रेल चल्ने भन्दै प्रधानमन्त्री ओलीले काठमाडौं केरुङ, पोखरा लुम्बिनी रेल चलाउनको लागि अध्ययन भएको जानकारी दिए । यस्तै, कोसी र कर्णालीबाट पानीजहाजमा सिधै समुन्द्रसम्म जान सकिने भन्दै प्रधानमन्त्री ओलीले यस्तो कुरा गर्दा केहीले बाल्टीमा कागजको पानीजहाज बनाएर ब्यंग्य गरेको भन्दै असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमलाई लक्ष्य, योजना र कार्यक्रममा बदलेर कार्यान्वयन गरिने पनि बताए । नीति तथा कार्यक्रम महत्वकांक्षी नभएको दावी गर्दै उनले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्पादनमूखी अर्थतन्त्र निर्माण गरिने जानकारी दिए ।

जेठ १५ गते आउने बजेटले सबै कुरा सम्बोधन गर्ने र देश संमृद्वितर्फ अघि बढ्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम माथि उठेको प्रश्नको आजै राष्ट्रिय सभामा पनि जबाफ दिदैछन् ।

गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्षका निम्ति प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रममाथि दुवै सदनमा करिब २ सय सांसदले आफ्ना धारणा राखेका छन् । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।

संविधान अनुसार प्रत्येक वर्ष १५ जेठमा केन्द्र, १ असारमा प्रदेश र १० असारमा स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यसका लागि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्दछ ।