१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘भाग्यले बाँचेकाहरु’ पहिलोपटक यूएईका तीन शहरमा

नेपालब्रिटेन डट कम्
१३ जेष्ठ २०७५, आईतवार २०:५६

काठमाडौँ । डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ आगामी महिना मध्यपूर्वको यूएईमा प्रर्दशन हुने भएको छ ।
लमजुङ समाज यूएईको आयोजनामा आबुधाबी, शाहरजा र दुबई शहरमा ‘भाग्यले बाँचेकाहरु’ प्रदर्शन हुन लागेको हो । लमजुङ समाजका महासचिव शिवजंग गुरुङका अनुसार, जुन १५ तारिख दिउँसो २ बजे आबुधाबीस्थित अल अहलिया अस्पतालको हल, जुन १६ तारिख बिहान १० बजे शाहरजास्थित मम हाउस रेष्टुरेण्ट र सोही दिन दिउँसो २ बजे दुबईस्थित सिल्भर स्पोन रेष्टुरेण्टमा ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनका लागि कार्यक्रम तय गरिएको छ । प्रदर्शनबाट उठेको रकम लमजुङको परोपकारी कार्यमा खर्च गरिने महासचिव गुरुङले बताउनुभयो ।

कार्यक्रमलाई सफल बनाउन समाजका उपाध्यक्ष बाबुराम सापकोटाको संयोजकत्वमा कमिटी गठन गरिएको लमजुङ समाजका अध्यक्ष महेश पराजुलीले जानकारी दिनुभयो । संसारका विभिन्न देशमा अवार्ड जितेको ‘भाग्यले बाँचेकाहरु’ आफूहरुले पहिलोपटक यूएईमा देखाउन पाउँदा खुसी लागेको बताउँदै उहाँले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको बहुचर्चित वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ । ‘यो वृत्तचित्र फिल्म यूएईमा पनि प्रदर्शन हुन लागेकोमा असाध्यै खुसी लागेको छ,’ भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेले भने, ‘यसले मध्यपूर्वमा रहेका नेपाली र विदेशी नागरिकको मन जित्नेछ ।’ भाग्यले बाँचेकाहरुको विशेष प्रदर्शनीमा निर्देशक पाण्डेसँगै निर्मात्री शारदा गैरे र लमजुङका संचारकर्मी आश गुरुङले नेपालबाट सहभागिता जनाउँदैछन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको भाग्यले बाँचेकाहरुको छायाँकन विनोद विष्ट, सम्पादन कुमार शाह, संगीत जुगल डंगोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रुपमा काम गरेका छन् ।