१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पद्मश्री पुरस्कार चीरहरणलाई, सम्मान वैरागी काइलालाई

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १३:३८

काठमाडौं । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०७२ सालको पद्मश्री पुरस्कार नीलम कार्कीको चीरहरण उपन्यासलाई दिने निर्णय गरेको छ । त्यसैगरी पद्मश्री सम्मान वरिष्ठ साहित्यकार बैरागी काइलालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले फेसबुक वालमा राखेको जानकारी अनुसार पुरस्कार र सम्मान दुई लाख रुपैयाँको छ । उक्त पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमाका दिन हस्तान्तरण गरिनेछ ।
पुरस्कार र सम्मानबारे प्रतिष्ठानका संरक्षक लामिछानेले फेसबुक वालमा राखेको स्टाटस जस्ताको त्यस्तै-

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई अर्पण गर्ने निर्णय गरेको छ । स्मरणीय छ, प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली साहित्यमा वर्षभरि प्रकाशित भएका पुस्तकहरूमध्येबाट छानिएको कृतिलाई एकल वा संयुक्त रूपमा पद्मश्री पुरस्कारबाट सम्मान गर्दै आएको छ । गत वर्ष प्रतिष्ठानले पुरस्कारको लागि आवेदन दिनुपर्ने व्यवस्था खारेज गरी प्रकाशित कृतिहरू प्रतिष्ठान स्वयंले बजारबाट खरिद गर्ने र पुरस्कारको अन्तिम घोषणा हुनुअघि पाँच उत्कृष्ट कृतिको मनोनयन गरी सार्वजनिक गर्ने निर्णय गरेको थियो । सोबमोजिम मिति २०७३/४/११ गतेको विज्ञप्तिमा रामलाल जोशीको कथासंग्रह ऐना, निलम कार्की निहारिकाको उपन्यास चीरहरण, कुमार नगरकोटीको उपन्यास मिस्टिका, गिरीश गिरीको गैह्र-आख्यान वीरगञ्ज: मेरो शहरको कथा र भूपिनको कवितासङ्ग्रह सुप्लाको हवाइजहाज पाँच कृतिको सूचि सार्वजनिक गरिएको सर्वविदितै छ । यिनै पाँच कृतिमध्येबाट विद्वान मूल्याङ्कनकर्ताहरूको निर्णय बमोमिज चीरहरण उपन्यासलाई यो वर्षको पद्मश्री पुरस्कारद्वारा सम्मान गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं ।

पुरस्कारबापत सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई लाख रुपैंया नगद अर्पण गरिनेछ ।

त्यसै गरी वि. सं. २०७२ को पद्मश्री साधना सम्मान वरिष्ठ साहित्यकार बैरागी काइँलालाई अर्पण गर्ने निर्णय भएको व्यहोरा पनि अनुरोध गर्दछौं । श्री काइँलाले पाँच दशकभन्दा बढी समयदेखि नेपाली र लिम्बु साहित्यको श्रीवृद्धिको लागि कलम चलाउँदै आउनुभएको छ । नेपालका अन्य स्थानीय भाषा र तिनका साहित्यको उत्थान तथा अनुसन्धानमा पनि उहाँको सक्रिय योदगान रहँदै आएको छ । उहाँसहितको नेतृत्वले सुरु गरेको तेस्रो आयाम आन्दोलनले नेपाली साहित्यमा वैकल्पिक चिन्तनलाई प्रवेश गराएको थियो । उहाँका यिनै अविच्छिन्न योगदानको कदर र सम्मान गर्दै प्रतिष्ठानले यो वर्षको साधना सम्मान उहाँलाई अर्पण गर्ने निर्णय गरेको हो । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार तथा विद्वान मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी र कलाकारद्वय मदनकृष्ण श्रष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई अर्पण गरिसकिएको छ ।

सम्मानबापत अभिनन्दनसहित सम्मानपत्र र दुई लाख रुपैँया नगद अर्पण गरिनेछ ।

पुरस्कार तथा सम्मान आगामी कोजाग्रत पूर्णिमाको दिनमा अर्पण गरिने व्यहोरा पनि अनुरोध गर्दछौं ।

जीवा लामिछाने
संरक्षक, खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान, चितवन ।
बि.स.२०७३ भाद्र १९ गते