१४ बैशाख २०८१, शुक्रबार
Follow Us

झुक्याएर मिर्गौला प्रत्यारोपण गराउने व्यक्ति पक्राउ

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार ०५:३१

काठमाडौं । भक्तपुरमा मानसिक रुपमा बिरामी रहेका एक युवकको झुक्याएर मिर्गौला निकालिएको छ । नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा काभ्रे नालाका कुमार गिरीको मिर्गौला चोरी भएको हो ।

गत बैशाख १० गते सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिका २ बस्ने बर्ष २९ का कुमार गिरीलाई झुक्याएर किड्नी प्रत्यारोपण गराउने थर्कबहादुर बस्नेतलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ ।

ललाईफकाई कीर्ते कागज बनाई झुक्याएर किड्नी प्रत्यारोपण गराउने मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१ घर भई भक्तपुर नगरपालिका–१ मा डेरा गरी बस्ने बस्नेतलाई हिजो पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

गत शुक्रबार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा संलग्न थप व्यक्तिको खोजी भइरहेको भक्तपुर परिसरका डिएसपी कृष्ण प्रसाईंले बताउनु भयो ।

अभियुक्त बस्नेतले ललाई फकाई लोभ लालचमा पारी कुमार गिरीको बाँया किड्नी निकाली प्रत्यारोपण गरेको भन्ने जाहेरीका आधारमा मानव अंग बेचविखन मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । आफ्नो छोरो भएको भन्दै नक्कली कागजपत्र बनाएर गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो ।