१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकारको पारिश्रमिक पुनरावलोकन हुनुपर्ने

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०७५, सोमबार १४:०२

काठमाडौं । पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन हुनुपर्नेमा सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ, उपत्यका, प्रतिष्ठान र एशोसिएट प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रियात्मक गोष्ठी कार्यक्रममा सहभागीले अहिलेको न्यूनतम पारिश्रमिकले पत्रकारको जीवनयापन गर्न समस्या पर्ने भएकाले पुनरावलोकन हुनुपर्नेमा जोड दिनुभएको हो ।

कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेलले पत्रकारको हकहितका लागि महासंघ लागिपरेको भन्दै पत्रकारको पारिश्रमिक पुनरावलोक गरिनुपर्ने बताउनुभयो । “अहिलेको पत्रकारको तलबले जीविकोपार्जन गर्न समस्या हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले हामी अहिलेको न्यूनतम रहेको पारिश्रमिकलाई बढाउन लागिरहेका छौँ ।”

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले श्रमजीवी पत्रकार ऐनले तोकेको पारिश्रमिक परिवर्तित समयअनुसार व्यावहारिक नभएकाले पुनरावलोकन गरिने बताउनुभयो । उहाँले अहिले पनि पत्रकारले न्यूनतम पारिश्रमिक व्यवहारमा नभई कागजीरुपमा मात्र पाएको बताउनुभयो ।