१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आज गणतन्त्र दिवस : बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी छुटे

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार ०५:०८

काठमाडौं । नेपाली जनताको त्याग र बलिदान तथा संघर्षबाट स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र ११ औँ वर्षमा प्रवेश गरेको छ । त्यही अवसरमा आज विभिन्न कार्यक्रम गरी ११औँ गणतन्त्र दिवस मनाईँदै छ । यस्तै, सरकारले काठमाडौंको सैनिक मञ्च टुडिखेलमा भव्य समारोह गरी गणतन्त्र दिवस मनाएको छ ।

गणतन्त्र घोषणापछि जारी संविधान अनुसार मुलुक नयाँ राज्य संरचनामा गएको छ । अहिले स्थानीय तह, प्रदेश र संघ गरेर तीन तहको राज्य संरचना छ । जनताको प्रतिनिधिमूलक संस्था संविधान सभाले २०६५ जेठ १५ गते २ सय ४० वर्ष पूरानो राजतन्त्र सँधैका लागि बिदा गर्दै गणतन्त्र स्थापना भएको घोषणा गरेको थियो ।

यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान होस् भनि शुभकामना दिनु भएको छ ।
गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।

यस्तै, जन्मकैदको सजाय काटिरहेका पूर्व माओवादी नेता बालकृष्ण ढुंगेलले ४० प्रतिशत कैद अवधि भुक्तान गरेको आधारमा सजाय माफी पाएका छन् । ढुंगेल अरु ८१६ कैदीसँगै आजै छुटेको कारागार व्यवस्था विभागका प्रमुख हरि मैनालीले जानकारी दिनु भयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचलित कामनुन बमोजिम असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य देखिएका तेम्बा शेर्पा सहित ८१६ जना कैदीलाई माफी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनु भएको छ ।

सजाय माफी पाउने ८१६ जनामा तत्कालिन माओवादीका नेता तथा पूर्वसभासद बालकृष्ण ढुंगेल पनि समावेश छन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भने तेम्बा शेर्पासहित ८१६ जना भनिएको छ । कानुन अनुसार ४० प्रतिशत कैद अवधी पूरा भएका र असल चालचलन भएका कैदीलाई बाँकी कैदको सजाय माफी दिन सकिन्छ । सोही प्रक्रिया पूरा गरेर गृहमन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो ।

गत आइतबार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो । अरु कैदी सरह वालकृष्ण ढुंगेलले पनि ४० प्रतिशत कैद अवधी भुक्तानी गरेका छन् । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेलले द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले हिजोमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन पुरानै हो । यसअघि राजतन्त्रको पालामा पनि यो प्रचलन थियो ।