१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारले आज बजेट ल्याउँदै, जलमार्ग र रेल प्राथमिकतामा

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार ०५:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो ।
अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान प्रस्तुत गर्ने कार्यक्रम छ ।

संविधानबमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गर्नुपर्नेछ । बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक– २०७५ र राष्ट्र ऋण उठाउने विद्येयक– २०७५ पेश गर्नु हुनेछ ।

सरकारले संघीय संसद्को दुवै सदनले पास गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र निर्वाचनमा जाँदा नेपाल कम्युनिष्ट पार्टीले गरेका प्रतिबद्धतालाई मुख्य आधार बनाइएको छ । जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकास गर्ने प्रतिबद्धता निर्वाचनका बेला गरिएकाले यसलाई पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।

यस्तै, सरकारले यो आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर दिएको छ ।  सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला यो आर्थिक वर्षको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो ।

खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मा्लिन, काइनाइटलगायतका खानीबाट रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिनुभयो । चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०.६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।  विभागले एकअर्ब सात करोड टन चुन ढुंगा अन्वेषण भएको जनाएको छ, जसमा ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य रहेको छ ।