काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको पक्षमा काम गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् । गणतन्त्र दिवसका अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा सभापति देउवाले जनतालाई भ्रममा मात्र नपारी काम गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।
उनले आफैं सर्वेसर्वा हो भन्ने आचरणलाई त्यागी विकासको मूल धारमा उभिन सरकारलाई सुझाव दिए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र लोकतन्त्रको विपक्षमा उभिने साहस अब कसैको नभएको बताए । उनले सबै दललाई इमान्दारिताका साथ राष्ट्रिय लक्ष्यमा केन्द्रित हुन आह्वान गरे ।
नेपाल कांग्रसका नेता कृष्णप्रसाद सिटौलाले प्रजातान्त्रिक संस्कृतिको जग बसान्दै जनताको आकांक्षा पुरा गर्नेतर्फ सम्पूर्ण दल एक हुनुको विकल्प नभएको बताए । त्यसैगरी पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सरकार र प्रतिपक्षी मिलेर जनताको चाहना पूरा गर्न लाग्नुपर्ने बताए ।