१२ बैशाख २०८१, बुधबार
Follow Us

अरूका लागि बाँच्नुको मज्जा बेग्लै छ

नेपालब्रिटेन संवाददाता
१५ जेष्ठ २०७५, मंगलवार १४:५८

अर्पणा खड्का, पूर्वकोषाध्यक्ष, पद्मकन्या क्याम्पस
राजनीति, अध्ययन र समाजसेवालाई एक साथ अघि बढाइरहेकी अर्पणा खड्का यतिबेला हुम्लामा व्यस्त छिन् । हुम्ली जनतालाई उद्यमी बनाउन उनी हुम्ला पुगेकी हुन् । नेविसंघको राजनीति, पद्मकन्याको पढाइ र गैरसरकारी संस्थामार्फत समाजसेवालाई अर्पणाले एक साथ डो¥याइरहेकी छन् । उनको यो तीनवटा आयामलाई कसरी समायोजन गरिरहेकी छन् भन्ने जिज्ञासा अर्पणासँग राख्दा उनी यसरी प्रस्तुत भइन् ः

० काठमाडौंमा बसेर हुम्लामा एनजीओ चलाउनु हुँदो रहेछ नि ?
– अर्पणा गरिबी निवारण संस्थाले लघुउद्यम विकास कार्यक्रम हुम्लामा सञ्चालन गरेको छ । त्यहीँका जनप्रतिनिधिसँग मिलेर कार्यक्रम सञ्चालन गरेका छौं । कार्यक्रम निरन्तर चलिरहेको छ ।

० लघुउद्यम विकास भनेको के हो ?
– यसले माइक्रो फाइनान्सलाई जोड दिन्छ । हामीले नाम्खा र सिमीकोटमा यो कार्यक्रम सञ्चालन गरेका छौं । सीप सिकाउने र उद्यमी बनाउने यो कार्यक्रमको मुख्य लक्ष्य हो । सीप सिकेपछि स्वलगानी उद्यमी बन्न सकियो । बाख्रा पालन, उत्पादित वस्तुको बजारीकरणलगायतका कार्यक्रम छन् ।

० के सीप सिकाउनु भयो ?
– स्थानीय क्षेत्रमा पाइने वनस्पति प्रयोग गरेर साबुन, कागज, धुप बनाउने तथा फर्निचर तयार गर्न सिकाउँछौं । सीप सिकाएर उत्पादन गर्ने सामान उपलब्ध गरायो भने उनीहरूलाई उद्यमी बनाउन सकिँदो रहेछ । लिमी भन्ने ठाउँमा उत्पादन भएको सिस्नोको पाउडर जर्मनी निर्यात हुन्छ । हुम्ला जडीबुटीको खानी रहेछ । त्यसलाई सदुपयोग गर्न सकिए हुम्लाको समृद्धि टाढा छैन ।

० हुम्ला नै किन रोज्नुभयो ?
– कर्णाली प्रदेशमा काम गर्ने मेरो पहिलेदेखिकै रहर हो । बुद्धिसागर चपाईंको कर्णाली ब्लुज पढेपछि त्यहाँको समुदायसँग घुलमिल हुने मेरो अदम्य इच्छा थियो ।

० काम गर्न कत्तिको चुनौती छ ?
– यातायातको सुविधा छैन, त्यसैले काम गर्न चुनौतीपूर्ण छ । त्यहाँका मानिसहरू सीप सिक्नभन्दा पनि भत्ताका लागि कार्यक्रममा सहभागी भएको पाइयो । पहिलो दिन दुई सयजना भेला भएको कार्यक्रममा भोलिपल्ट १५ जना मात्र उपस्थित भए । हामीले भत्ता वितरण गर्न सकेनौं, त्यसैले उनीहरू सहभागी भएनन् ।

० त्यहाँका महिलाको अवस्था कस्तो पाउनुभयो ?
– पानी अत्यधिक चिसो भएकाले सरसफाइ गर्दैनन् । घोडाले खाने रक्सी खान्छन् । पुरुषहरू दिनभरि तास खेल्दा रहेछन् । भोट बर्मेली समुदाय मेहनती देखियो, अन्य समुदाय अल्छीजस्तो लाग्यो ।

० आयआर्जन ?
– मान्छे गरिब छैनन्, सोचाइ गरिब मात्र हो । बाटोको असुविधा भएकाले खच्चडबाट ढुवानी गर्नुपर्छ, जुन एकदमै महँगो हुन्छ । चिनो र रातो चामल पाइन्छ । स्याउ, जटामसी, लोक्ता जस्ता उत्पादनलाई सदुपयोग गर्न सकिएको छैन । गैरसरकारी संस्थाले त्यहाँका समुदायलाई अल्छे बनाएको छ । भक्ताको लोभमा तालिम लिने धेरै भेटियो ।

० समुदाय कसरी चलेको छ ?
– आवरण नराम्रो भए पनि मान्छेहरू राम्रा छन्, मुखिया टाइपको समुदाय छ । पुरुषको दादागिरी चल्छ । मासुको खपत धेरै हुन्छ । महिलाहरू दिनभरि काम गरेर साँझ फर्किदा श्रीमान्का लागि रक्सी र मासु लिएर फर्किन्छन् ।

० यो कार्यक्रम सञ्चालन गर्न कहाँबाट पैसा आउँछ ?
– उद्योग मन्त्रालयअन्तर्गत गरिबी निवारणका लागि लघुउद्यमअन्तर्गत मैले कार्यक्रम सञ्चालन गरेकी हुँ । सातजना कर्मचारी छन् । मन्त्रालयको निगरानी हुन्छ । फिल्डमा गएर काम गर्नुपर्छ ।

० भनसुनमा प्रोजेक्ट हात पार्ने हो ?
– होइन, अहिलेसम्म क्षमता देखाएरै काम गरिएको छ । राजनीतिक आवरणमा सेटिङ मिलाएर कागजमा सीमित हुने प्रोजेक्ट होइन यो । मैले गरेको काम प्रत्यक्ष हेर्न सकिन्छ । मैले निजी खर्चमा ४२ जना बच्चालाई स्टेसनरी उपलब्ध गराएकी छ । आफूले गरेको काममा राजनीति प्रभाव पर्न दिन्न ।

० गैरसरकारी संस्था खोल्नुपर्छ भनेर कसले हुटहुटी लगायो ?
– समाजसेवा गर्नुपर्छ भन्ने मेरो चाहनालाई बुवाले पे्ररित गर्नुभएको थियो । कानुनी रूपमा पनि व्यक्तिगत सहयोग गर्न पाइँदैन । त्यसैले संस्थागत रूपमै अघि बढ्न गैरसरकारी संस्था दर्ता गरेकी हुँ ।

० सम्पन्न परिवार हो ?
– त्यस्तो सम्पन्न होइन, हामी तीन दिदीबहिनी र दुई दाजुभाइ हौं । दुई दिदीको विवाह भइसक्यो । दुवै दाजुहरू सरकारी सेवामा हुनुहुन्छ । सिन्धुलीका हौं हामी, बुवा राजनीतिसँगै किसान हुनुहुन्छ । म चाहिँ बुवाको बिँडो थाम्न राजनीतिसँगै समाजसेवामा होमिएकी छु ।

० बुवाको राजनीति कहाँसम्म पुग्यो ?
– क्षेत्रीय सभापतिसम्म बन्नुभयो । जेलजीवन पनि बिताउनुभयो । राजनीतिमा मेरा बुवाको योगदानबारे हरिहर विरहीले लेख्नुभएको पुस्तक ‘आगो अझै निभेको छैन’ मा उल्लेख छ ।

० राजनीतिमा लाग्न तपाईंलाई पे्ररित गर्नुभयो ?
– लोकसेवा पढ्न दाजुहरूले फोर्स गर्दागर्दै बुवाले चाहिँ यो देशको प्रधानमन्त्री बन्ने मान्छे हो, उसलाई राजनीति गर्न दे भन्नुहुन्थ्यो ।

० त्यसो भए प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ ?
– सपना देख्नु मेरो दोष होइन, तर त्यसभन्दा अगाडि आफ्नो कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्नुपर्छ । बुवाको आशीर्वाद लागोस् भनेर म दिनरात समाजसेवामा समर्पित छु ।

० कत्ति पढ्नु भयो ?
– मास्टर्स सक्नुपर्ने थियो, अहिले स्नातकमा रिज्वाइन गरेकी छु । बिएसडब्लुको अध्ययनलाई अगाडि बढाउँदैछु ।

० विवाह गर्नुभयो ?
– छैन, पारिवारिक झमेलामा पर्ने बेला अहिले नै भइसकेको छैन जस्तो लाग्छ ।

० रिलेसनमा हुनुहुन्छ ?
– त्यो पनि छैन । अहिलेसम्म कुनै केटाले पत्याएको छैन भन्नुपर्ला ।

० कसैले प्रपोज गरेन ?
– गरेको छैन, म अलि हक्की स्वाभावकी भएकाले पनि हतपत्त केटाहरू प्रपोज गर्ने आँट गर्दैनन् । कतिपय घटनामा केटालाई नै ठटाएर हिँडिएको छ । टिनएज पार गरिसकेकी छु, सोचेर सम्झेर निर्णय गरौंला ।

० मनको राजा कस्तो होस् भन्ने कल्पना गर्नुभएको छ ?
– गाउँमा हुर्कियो, दुःखजिलो गरेर यो स्थानमा आइपुगेकी छु । संघर्ष भर्खर सुरुवात हुँदैछ, अझै धेरै गर्न बाँकी नै छ । त्यसैले अहिले विवाहका बारेमा कुनै सोच बनाएकी छैन ।

० कसैले प्रपोज नगरे ?
– के गर्न सक्छु र ? देशका लागि समर्पित हुन्छु । इमान्दार र अनुशासित रूपमा आफ्नो कर्तव्य निर्वाह गर्छु ।

० अब के गर्दै हुनुहुन्छ ?
– आफ्ना लागि त जो पनि बाँच्न सक्छ, अरुका लागि बाँचेर हेरौं त त्यसको मज्जा छुटै छ । राजनीति, अध्ययन र समाजसेवालाई एकै साथ अघि बढाउँदैछु । अबको १० वर्षमा एउटा समुदायलाई माथि उठाउने योजना छ ।

० यो कुराकानीमा केही छुट्यो ?
– सबै कुरा एक बसाइको कुराकानीमा नअट्नु स्वाभाविक हो । त्यसैले युवा र राजनीतिक विकृतिका कुरा छुटेका छन् । राजनीति भनेको आत्मसम्मान देश र जनताका सेवाका लागि गरिन्छ । पहुँचको होइन, निष्ठाको राजनीति हुनुपर्छ ।