११ बैशाख २०८१, मंगलवार
Follow Us

बजेटबारे साझा धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक

नेपालब्रिटेन संवाददाता
१६ जेष्ठ २०७५, बुधबार ०७:४३

काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५–७६ को बजेटबारे धारणा तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो । बजेटबारे अनेकखाले टिप्पणी आइरहेका बेला प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले यसबारे साझा धारणा बनाउन बुधबारका लागि बैठक बोलाएको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाँणले बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको जानकारी दिए । बैठक नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको हो ।

यसअघि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भने कांग्रेसले मौन समर्थन जनाएको थियो । पार्टीभित्रैका कतिपय नेताले यसप्रति असन्तुष्टि जनाउँदै काग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्न उठाएका थिए । बजेटबारे भने कांग्रेसले सुरूमै असन्तुष्टि जनाइसकेको छ ।

कांग्रेस सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाले यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै बोझ बोकाउने हावादारी कार्यक्रमको पुलिन्दा भनेका छन् ।