८ बैशाख २०८१, शनिबार
Follow Us

तरुण दलको महाधिवेशन असोजमा

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७३, आईतवार १४:०६

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशन आगामी असोज ३ देखि ५ गतेसम्म हुने भएको छ । यसअघि भदौ २४ देखि २६ गतेसम्म पोखरामा हुने मिति तोकिए पनि तयारी नपुगेको जनाइएको छ । हालसम्म ६० जिल्लाको मात्र अधिवेशन भएको र निर्धारित मितिमा बाँकी जिल्लाको अधिवेशन गर्न समय अपुग हुने भएकाले महाधिवशेन मिति सार्नुपरेको निर्देशन समितिका सदस्य रामकृष्ण यादवले राससलाई जानकारी दिनुभयो ।

काँग्रेसको तरुण दल महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सहयोग पु¥याई आवश्यक निर्देशन समेत दिन केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा निर्देशन समिति गठन गरिएको छ । समितिमा पार्टी केन्द्रीय सदस्य उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी, सरिता प्रसार्इं, महेन्द्र यादव र विश्वप्रकाश शर्मा सदस्य रहनुभएको छ ।

काँग्रेसमा तरुण दललाई नेपाल विद्यार्थी सङ्घपछिको प्रभावशाली भ्रातृ संस्था मानिन्छ । पार्टीले हालसम्म १३ भ्रातृ र १७ शुभेच्छुक संस्थालाई मान्यता दिएको छ । दुई काँग्रेस एकीकरणपछि विसं २०६९ वैशाख २ गते तत्कालीन सभापति सुशील कोइरालाले छ महिनाका लागि भनेर गठन गरेको तदर्थ समितिको हालसम्म महाधिवेशन हुन सकेको छैन ।
अधिवेशन हुन बाँकी जिल्लामध्ये कतिपय जिल्लामा समानान्तर समिति छन् भने कतिपयमा पार्टीका गुटको हस्तक्षेपले विवाद उत्पन्न भएको देखिन्छ । धनुषा, रुपन्देही, रुकुम, बझाङ, बाँके, भक्तपुर लगायत जिल्ला समितिमा विवाद छ ।

तरुण दलको आगामी नेतृत्वका लागि हालसम्म ऐम गुरुङ, राधा घले, जन्मजय तिमिल्सिना, नारायण भट्टराई, दामोदर कोइराला, कर्ण मल्ल, टेकराज पौडेल, लक्ष्मी खतिवडा, उत्तम चापागार्इं, निरञ्जन केसी, नागेश्वर यादव, पदम पालङ्गवा, खिममान रायमाझी, मेदिनी सिटौला, पूर्ण गुरुङ लगायत आकाङ्क्षी देखिनुभएको छ । उहाँहरुमध्ये अधिकांश मौजुदा केन्द्रीय समितिका सदस्य हुनुहुन्छ ।

हाल मौजुदा केन्द्रीय समिति गठनका बेला समितिका कसैले पनि आगामी महाधिवेशनको निर्वाचनमा उठ्न नपाउने सहमति भएको थियो । यद्यपि हाल केन्द्रीय समितिका अधिकांश सदस्यले आगामी निर्वाचनमा उठ्न पाउनुपर्ने माग गरेका छन् । सो मागमा पार्टी पनि सकारात्मक देखिएको अध्यक्षका आकाङ्क्षी जन्मजय तिमिल्सिनाले जानकारी दिनुभयो । गत साउन २३ गतेदेखि भएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भने पार्टीले मौजुदा केन्द्रीय समितिका कसैलाई पनि भाग लिन दिएको थिएन ।

तरुण दलको हालको विधानानुसार मुलुभरबाट महाधिवेशनमा एक हजार तीन सय ७० प्रतिनिधि रहनेछन् । हाल केन्द्रीय समिति ४५ सदस्यीय छ भने विधानमा ६१ सदस्यीय समिति रहने प्रावधान छ ।

अब प्रादेशिक संरचनाअनुसार विधान संशोधन हुने र त्यसमा विद्यमान सङ्ख्या वृद्धि हुनाका साथै समावेशिताको व्यवस्था पनि हुने अध्यक्षका आकाङ्क्षी नारायण भट्टराईले बताउनुभयो ।
विसं २०१० कात्तिक १० गते तत्कालीन सभापति बिपी कोइरालाको समन्वय र निर्देशनमा स्थापित तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहनुभएको थियो । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताप्रति प्रतिबद्ध रहँदै नेपाली समाजलाई समृद्धि र आधुनिक समाजमा रूपान्तर गर्नका लागि स्वाभिमानी, कर्तव्यशील र परिश्रमी पुस्ताको जग बसाउन तरुण दलको स्थापना भएको हो ।

त्यसपछि २०१७ साल पुस १ गते तत्कालीन प्रधानमन्त्री बिपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिहेका बेला राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’गरेका थिए । राजाले दलमाथि प्रतिबन्ध लगाएका अवस्थामा तरुण दल पनि विघटन हुनपुगेको थियो । यद्यपि विभिन्न नाममा युवाहरु सङ्गठित हँुदै निरङ्कुश राजतन्त्रका विरुद्ध लडिरहेको भट्टराई बताउनुहुन्छ ।

विसं २०५४ मा नेपालगन्जमा भएको काँग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसपछि तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र हाल उदयशम्शेर राणा अध्यक्ष हुनुहुन्छ ।