११ बैशाख २०८१, मंगलवार
Follow Us

लाइसेन्सका लागि ट्रायल दिने तीन नक्कली विद्यार्थी पक्राउ

sarusaru
१७ जेष्ठ २०७५, बिहीबार ०३:५२

भक्तपुर : भक्तपुर प्रहरीले मोटरसाइकलको चालक अनुमतिपत्र (लाइसेन्स) को लागि ट्रायल परीक्षा दिने दुई नक्कली परीक्षार्थी र एकजना बिचौलियालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार यातायात कार्यालयअन्तर्गतको ट्रायल परीक्षा दिने भक्तपुरको मध्यपुर थिमी नगरपालिका ९ राधे राधेस्थित इजीवे ट्रायल सेन्टरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले नक्कली परीक्षार्थीहरु तेर्‍हथुम इवा गाउँपालिका १ घर भई हाल ललितपुरको लामाटार बस्ने ३० वर्षीय धनकुमार ईङमान (लिम्बु) र मोरङको लेटाङ गाउँपालिका ८ घर भई हाल ललितपुर लुभु बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिए।

उनका अनुसार लिम्बूले सिन्धुलीको पोखरी गाविस ५ स्थायी घर भएका २० वर्षीय टीकाराम चौलागार्इंको मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेका थिए। त्यस्तै राईले भक्तपुरको सूर्यविनायक नपा १० का २० वर्षीय सनिस पाकुर श्रेष्ठको नाममा मोटरसाइकलको ट्रायल परीक्षा दिँदै गरेको नायब प्रहरी उपरीक्षक प्रसाईंले बताए।

त्यस्तै पैसा लिएर लाइसेन्स बनाइदिने नाउँमा सर्वसाधारणसँग रकम मागिरहेका विचौलिया काभ्रेपलाञ्चोकको पाँचखाल नपा ६ बस्ने ५० वर्षीय प्रेम अधिकारीलाई नियन्त्रणमा लिइएको छ। पक्राउ परेका दुई नक्कली परीक्षार्थी र एक बिचौलियालाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखिएको छ।

विशेष सुराकीको आधारमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। उनीहरुमाथि केही सार्वजनिक अपराधमा म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
अन्नपूर्ण पोष्ट