८ बैशाख २०८१, शनिबार
Follow Us

एसएसपी खत्री र गोरे एउटै जेलमा

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०७५, शुक्रबार ०५:०७

विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्री जेल चलान भएका छन् । बिहीबार जिल्ला अदालत मोरङले बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि मोरङ जिल्ला कारागार पठाउने आदेश दिएको हो । सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ पनि सो कारागारमा रहेका छन् ।

बिहीबारै बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका खत्रीले बयानमा अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र चूडामणि उप्रेती ‘गोरे’को विशेष सम्बन्ध रहेको खुलासा गरेका थिए । आफूभन्दा माथिल्लो तहका गोरे र निरौलाबीचको सम्बन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् रहँदा सुन तस्करी रोक्न नसकेको बयान खत्रीले दिएका छन् ।

उनले सुन तस्करीमा प्रहरीका अरु धेरै अधिकारीको संलग्नता रहेको बताएपनि नाम भने खुलाएनन् । खत्री यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाइ पाएका थिए । साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मुख्य अभियुक्त मानिएका गोरेले सुनकान्डका मुख्य अभियुक्त श्याम खत्री नै भएको बयान दिएका थिए ।

खत्री ३३ किलो सुनकान्डबाट सफाइ पाएपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हाजिर भइसकेका थिए । फेरि साढे ३३ किलो सुनकान्डमा नाम मुछिएपछि फरार रहेका खत्रीले आत्मसमर्पण गरेलगत्तै उनीमाथि थप अनुसन्धान थालिएको हो ।