१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई कारबाही हुने

sarusaru
१८ जेष्ठ २०७५, शुक्रबार ११:०२

काठमाडौं । ट्राफिक प्रहरीले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबार पत्रकार सम्मेलन गरेर सिट संख्याभन्दा बढि यात्रु राख्ने सवारी साधनलाई कडा कारबाही गरिने जनाएको हो ।

महाशाखाले सिट संख्याभन्दा बढी यात्रु राख्ने सवारी साधनको जरिवाना पनि थप गरेको छ । पहिला ५ सयसम्म लिइँदै आएको जरिवाना १ हजार पुर्‍याएको हो ।

यातायात व्यवस्था विभागले प्रत्यायोजन गरिएको अधिकार अनुसार यसको जरिवाना १ हजार पुर्‍याइएको महाशाखाका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताए ।

त्यसैगरी, महाशाखाले सार्वजनिक सवारी साधनमा धुम्रपान गरेमा १ हजार जरिवान लिने व्यवस्था पनि गरेको छ । ध्वनी संकेत निषेध गरेको ठाउँमा ध्वनी दिएमा पनि १ हजार जरिवाना तोकिएको समेत उनको भनाइ छ ।

महाशाखाले सवारी साधनको पार्किङ स्थललाई व्यवस्थित बनाउने, ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई अझै व्यापक बनाउने योजनालाई पनि प्राथमिकताका साथ अघि बढाउने पनि स्पष्ट पारेको छ ।

ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको छ । सामान छुट्ने, चोरी हुने र ठगीको समस्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ट्याक्सीभित्र नम्बर प्लेट राख्नुपर्ने नियम ल्याएको हो ।

यसलाई क्रमशः सबै सार्वजनिक सवारीमा लागू गर्ने योजना महानगरीय ट्राफिक प्रहरी महाशाखाको छ । पन्तले यो व्यवस्थाको सुरुआत गरे ।

अब यो नियमममा निकै कडाइ गर्ने पन्तको भनाइ छ । पन्तले अब बस स्टपमा ‘पिक एन्ड ड्रप’ मात्रै गर्न दिने व्यवस्था गर्ने पनि बताए । उनले यात्रुलाई लाइनमा सबेर गाडी चढ्न लगाउने र सवारीहरुलाई लेन अनुशासन मान्न बाध्य बनाउने गरी कडाइ गर्ने पनि स्पष्ट गरे ।

‘ट्राफिक प्रहरी नभएको ठाउँमा ट्राफिक नियम नै नमान्नेहरु बढ्दै गएका छन् । अब सीसी टिभी फुटेजबाट त्यस्ता सवारीको नम्बर पत्ता लगाएर कारवाही गर्छौं,’ पन्तले भने,’यात्रु कोच्ने सवारीलाई पनि कारवाहीको दायरामा ल्याउँछौं ।’

महाशाखाले जमलबाट छुट्दै आएका पर्यटक बसलाई गोंगबु बसपाकमा लैजान लागिएको जानकारी दिए । अत्यधिक गतिमा सवारी हाँक्नेहरुलाई पनि नियन्त्रणमा लिइने पन्तले बताए । यसका लागि रडान गनको प्रयोग गरेर ओभरस्पीड चेकजाँच गर्ने महाशाखाको योजना छ ।

एसएसपी पन्तले ‘मोडीफाइ’ गरेर चर्को आवाजमा हाँकिने बाइकलाई कारवाही गर्ने योजना सार्वजनिक गरे । जथाभावी पार्किङ गर्ने सवारी र मिटरमा नहिँड्ने ट्याक्सीमाथि कारवाही गरिने उनको भनाइ छ ।