११ बैशाख २०८१, मंगलवार
Follow Us

महामन्त्री ज्ञानेन्द्र कार्कीलाई बनाइने

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७३, सोमबार ०५:५४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी संगठनलाई पूर्णता दिने अभियानमा जुट्नुभएको छ । मनोनीत गर्नुपर्ने २१ जना केन्द्रीय सदस्यमध्ये सभापति देउवाले यसअघि १२ जनाको मनोनयन गरिसक्नुभएको छ । अब नौजनाको मनोनयन केही दिनभित्र गर्ने तयारी रहेको समाचार स्रोतले जनाएको छ ।
पुष्पा भुसाललाई सहमहामन्त्री या संसदीय समितिको सदस्य बनाउनुपर्ने नेता खुमबहादुर खड्काको माग छ । यता, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठमध्ये एकजनालाई उपसभापति बनाइने निश्चित जस्तै रहेको समाचार स्रोतले जनाएको छ । निधिले उपप्रधानमन्त्री बन्ने अवसर पाएका कारण पार्टीको उपसभापतिको अवसर श्रेष्ठले पाउनुपर्ने दाबी गरिरहेका छन् । पार्टीको प्रधानमन्त्री रहेको अवस्थामा उपसभापतिले नै पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने संसदीय प्रचलन रहेको कारण आफूले नै उपसभापति पद पाउने कुरामा निधि पनि ढुक्क देखिनुभएको छ ।
महामन्त्री पदमा भने खासै ठूलो समस्या देखिएको छैन । महामन्त्री पदका लागि ज्ञानेन्द्रबहादुर कार्की, डा.प्रकाशशरण महत र बालकृष्ण खाँण आकांक्षी देखिनुभएको छ । तर यी तीनजनामध्ये कार्कीले अहिलेसम्म खासै अवसर पाउनुभएको छैन । कार्कीलाई महामन्त्री बनाउँदा डा.महत र खाँणको पनि खासै आपत्ति नहुने अवस्था देखिएको छ । महामन्त्री पदका लागि कार्कीको लगभग निश्चित जस्तै भएको पार्टी सभापति निकट स्रोतले जनाएको छ ।