११ बैशाख २०८१, मंगलवार
Follow Us

कर्णाली प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

sarusaru
२० जेष्ठ २०७५, आईतवार ०३:००

सुर्खेत- आजदेखि सुर्खेतमा माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्राबीच कर्णाली प्रदेशस्तरीय १०औँ राष्ट्रप्रति रनिङ शिल्ड शुरु भएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज शुरु भएको राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कर्णाली सुर्खेतबाट निर्वाचित प्रतिनिधिसभाका सांसद ध्रुवकुमार शाहीले गर्नुभयो ।

कार्यक्रममा सांसद शाहीले खेल जगत्मा कर्णाली प्रदेश अब्बल रहेको बताउनुभयो । ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस’ हरिबहादुर रोकाया जन्माउने कर्णाली प्रदेशले मुलुकको गरिमालाई माथि राख्न सहयोग पु¥याएको उहाँको तर्क थियो ।

मुलुक विकासका लागि शिक्षित र स्वस्थ नागरिक दुवै आवश्यक भएकाले अध्ययन र खेल दुवैलाई सँगसँगै लैजान उहाँले खेलाडीलाई आग्रह गर्नुभयो । खेल जगत्को पूर्वाधार विकासका लागि आफ्नो तहबाट पहलकदमी चाल्ने उहाँको भनाइ थियो ।

प्रदेशसभाका सदस्य पद्मा खड्काले राष्ट्रका लागि खेल आवश्यक रहेको बताउनुभयो । उहाँले खेलले स्वस्थ नागरिक उत्पादनमा सहयोग पु¥याउने भएकाले खेलाडीलाई राष्ट्रिय गहना बनेर नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सुझाव दिनुभयो । भौगोलिक कठिनाइका बाबजुद पनि खेल खेल्न प्रदेश राजधानी सुर्खेतमा पुग्ने सबै जिल्लाका खेलाडीलाई उच्च मनोबलका साथ प्रतिभा देखाउन उहाँले आग्रह गर्नुभयो ।

आजदेखि जेठ २१ गतेसम्म सञ्चालन हुने १०औँ राष्ट्रप्रति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराते, उसुलगायतका खेल समावेश गरिएको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिनुभयो । संयोजक सिंहका अनुसार सहभागी खेलाडीले स्वर्ण, रजत र कास्यगरी ३०४ पदकका लागि स्वस्थ प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, मुगु, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुम, सल्यान र सुर्खेतसहित प्रत्येक जिल्लाबाट ८४ जनाका दरले ८४० खेलाडीको सहभागिता रहेको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताउनुभयो ।

सदस्य शाहीका अनुसार प्रदेशस्तरीय यो खेलबाट १०२ खेलाडी छनोट भएर यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलमा सहभागिता जनाउनेछन् । प्रदेशस्तरीय खेलकुदमा सहभागी खेलाडीको आवास तथा खाजा खर्चका लागि खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्ले रु २० लाख बजेट विनियोजन गरेको प्रतियोगिता सञ्चालन समितिले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय आउने खेलाडीलाई क्रमशः रु २० हजार, रु १५ हजार रु १० हजार पुरस्कार राशि रहेको जनाइएको छ ।
रासस