१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्छ : नेता लेखक

नेपालब्रिटेन संवाददाता
२० जेष्ठ २०७५, आईतवार ११:०६

बाजुरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले जनताका नैसर्गिक आधारभूत अधिकार र लोकतान्त्रिक गणतन्त्र सरकारले सुरक्षित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले संविधानको ग्यारेण्टी तथा मौलिक हक अधिकार सुनिश्चितता गर्दै लैजान सरकारलाई आग्रह गर्नुभयो ।

सबै राजनीतिक दलको सहकार्यमा नै संविधान कार्यान्वयन भएको लेखकको भनाइ थियो । काँग्रेसको नेतृत्वमा नै मुलुकले एतिहासिक सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । नेपाली काँग्रेसले एक दशकमा प्राप्त गरेका उपलब्धिको ठीक ढंगले कार्यान्वयन भए नभएको बारेमा पार्टीले खबरदारी गर्ने लेखकले प्रष्ट पार्नुभयो ।

“काँग्रेसले सरकारले गरेका काम कारबाही र संविधान कार्यान्वयन तथा राष्ट्रको हक हितमा सहयोग गर्नेछ,” उहाँले भन्नुभयो, “काँग्रेसले प्रभावकारी रुपमा बलियोे प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।”