४ बैशाख २०८१, मंगलवार
Follow Us

स्कट्ल्याण्डको एबर्डिनमा पाँच वर्ष देखी नेपाली भाषा कक्षा संचालन

नेपालब्रिटेन डट कम्
२१ जेष्ठ २०७५, सोमबार ००:०४

शिव तिवारी ।
बेलायत – स्कट्ल्याण्डको एबर्डिनमा रहेको नेपालीहरुको समाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले निरन्तर सञ्चालन गर्दै आएको नेपाली भाषा पठन-पाठन कक्षा शुरु भएको चार बर्ष पुरा भै पाँचौं बर्षमा प्रबेश गरेको छ । विभिन्न काम तथा अध्यायनका सिलशिलामा बेलायत आएका नेपालीहरुको छोराछोरिहरुलाई नेपाली भाषा शुद्धसँग बोल्न र नेपाली रितीरिवाज, चाडपर्व तथा संकृतिको बारेमा जानकारी दिने मुल उद्देस्यका साथ यो कार्यक्रम सन्चालनमा ल्याइएको हो ।

हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिदै आएको छ । नेपाली भाषा कक्षामा केहि समयअघी देखी नृत्य प्रशिक्षण कक्षा पनि थप गरिएको संथाका अध्यक्ष मीन भट्टले जानकारी दिए । एसोसिएसनले नेपाली अभीभावकहरुकै सहयोग लिएर नेपालमा रहँदा शिक्षण पेसामा लागेर अनुभब हासिल गरेका तथा भाषा र संस्कृतिमा रुचि भएका व्यक्तिहरुले पठन पाठन गराउँदै आएको छन् । एसोसिएसनका कार्यसमिती सदस्य तथा पत्रकार शिव तिवारीको संयोजकत्वमा मिन भट्ट, प्रकाश जिसि, कल्पना जिसि, तोया सापकोटा, सिर्जना पाण्डे, सागर सिम्खडा, सगुन न्योपाने, चण्डिका लामिछाने लगायतको समूह कृयाशिल छ ।

कक्षा सञ्चालन भएको चार बर्ष पुरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले नेपाली भाषा कक्षा निरन्तरताको प्रतिबद्धता व्यक्त गरे । संयोजक तिवारीले कक्षामा सहभागी नेपाली बालबालिकाहरु नेपाली भाषा प्रष्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिदै आजकल झनै प्रभाबकारी भइरहेको बताए ।
एबर्डीन स्कट्ल्याण्डको माइल इण्ड प्राइमरी स्कुलबाट सुरु गरिएको नेपाली भाषा कक्षा हाल एबर्डिन सिटी काउन्सिलले उपलब्ध गराएको एसोसिएसनको आफ्नै कार्यालयमा संचालन भैरहेको छ । नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको भाषा कक्षामा ३ देखी पन्ध्र बर्ष सम्मका नेपाली बालबलिकाहरुलाई बिभिन्न समुहमा बिभाजित गरी पठन पाठन हुँदै आएको छ ।

बिगत बर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि गत बर्षदेखी ’द नेसनल लोटरि’ नामक संस्थाद्वारा बर्ष २०१७ र २०१८ को लागी झण्डै ५ हजार पाउण्ड सहयोग प्राप्त गरेको उक्त समाजिक संस्थाका प्रोजेक्ट कोर्डिनेटर नबिन क्षेत्रीले बताए । प्राप्त रकम प्रभाबकारी योजना सहित बालबालिकाहरुको बृहत्तर बिकासमा खर्च गर्न पाउदा खुशी लागेको भन्दै सबै नेपालीहरुबाट आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको सुनाए ।

संयोजक तिवारी तथा अध्यक्ष भट्टले संयुक्त रुपमा केक काटेर पाचौ बर्ष प्रबेशको स्वागत गरिएको सो अबसरमा आर्ट प्रतियोगिता गरी सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो भने नेपाली भाषा शिक्षक हरुलाई सम्मान गरिएको थियो । झण्डै २ घण्टा चलेको सो कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा नारायण श्रेष्ठ, टक थापा, डा सोहन घिमिरे, बिजय सिग्देल्, तोया सापकोटा लगायतको सहभागिता रहेको थियो ।

स्कट्ल्याण्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एसोसिएसनले नेपालमा बिभिन्न प्राकृतिक बिपतमा समेत सहयोग गर्दै आएको छ ।