८ बैशाख २०८१, शनिबार
Follow Us

आफ्नै घरमा हातखुट्टा बाँधेर युवकको हत्या

नेपालब्रिटेन संवाददाता
२१ जेष्ठ २०७५, सोमबार १४:१८

भैरहवा । भैरहवामा एक युवकको आफ्नै घरमा हत्या गरिएको अवस्थामा शव फेलापरेको छ । आइतबार राति खाना खाएर आफ्नो कोठामा सुतेका सिद्धार्थनगर नगरपालिका–८, अन्चलपुर का २२ वर्षीय सतिश सहानीको सोमबार बिहान हातखुट्टा बाँधिएको अवस्थाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले मृतक सहानीको हातखुट्टा प्लास्टिकको डोरीले र मुख प्लास्टिकले बाँधी हत्या गरिएको अवस्थामा प्रहरीले शव फेलापारेको बताए । घरको माथिल्लो तलामा मृतक सहानी एक्लै र भुइँतलामा उनका दाजुको परिवार बस्ने गरेको प्रहरीले जनाएको छ ।

मृतक सुत्ने कोठाको भित्रबाट चुकुल लागेको (तारले बन्द गरिएको) कारण ढोका नखोलिएको र अपराधी सहजै खोल्न मिल्ने कोठाको झ्यालबाट कोठामा पसी हत्या गरेर झ्यालबाटै भागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा पाइएको एसपी ज्ञवालीले बताए ।

मृतकका बुवा विद्युत् प्राधिकरणका कर्मचारी हुन् । मृतकको शवलाई पोस्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।