११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्रीको चीन भ्रमणमा काठमाडौं–केरुङ रेल सम्झौता हुने

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७५, मंगलवार ०५:२७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा केरुङ–काठमाडौं रेलमार्गको एजेण्डाले प्राथमिकता पाउने भएको छ । ओली असार ५ मा चीनको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ र भ्रमणको तयारी अन्तिम चरणमा छ ।

१४ चैत २०७२ मा ओलीले चीनसँग व्यापार तथा पारवहन सम्झौतालगायत १० बुँदे सहमति गरेका थिए । तर, सम्झौता कार्यान्वयनले अपेक्षाकृत गति लिन नसकिरहेका बेला ओली प्रधानमन्त्रीका रुपमा फेरि चीन जाँदै हुनुहुन्छ । यो भ्रमणमा विगतका सहमति कार्यान्वयनसँगै रेलबारे के सम्झौता होला भन्ने सबैलाई चासो छ ।

प्रधानमन्त्री ओलीले कुनै पनि सार्वजनिक कार्यक्रममा सकभर रेलको चर्चा गर्न छुटाउनु भएको छैन । ओलीको भाषणलाई मान्ने हो भने केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्म रेल चढ्नेमा ढुक्क भए हुन्छ । तर, अहिले भइरहेको पूर्व सम्भाव्यता अध्ययन सकिएपछि मात्रै यसको निर्माण सम्भव छ वा छैन भन्ने टुंगो लाग्नेछ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच रसुवागढी–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने समझदारी हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

अहिले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलको पूर्व सम्भाव्यता अध्ययन भइरहेको छ । पूर्वसम्भाव्यता अध्ययनले निर्माण संभव हुने देखाएपछि मात्रै डीपीआर निर्माण अघि बढाइनेछ । पूर्वसम्भाव्यता अध्ययन नसकिएका कारण यसपाली भने सम्भाव्यता अध्ययन अघि बढाउने मात्रै सम्झौता हुने बताइएको छ ।

‘ओलीको भ्रमणपछि चिनियाँ राष्ट्रपति शी जिङपिङ पनि नेपाल आउने चर्चा छ, त्यसबेलासम्म पूर्वसम्भाव्यता अध्ययनको पनि रिपोर्ट आइसक्छ,’ ओली निकटहरुले भनेका छन्, ‘पूर्वसम्भाव्यता अध्ययनमा निर्माण सम्भव देखियो भने चिनियाँ राष्ट्रपति नेपालका आउँदा डीपीआर र निर्माण सम्झौता गर्ने सरकारको योजना छ ।’