८ बैशाख २०८१, शनिबार
Follow Us

गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि रु एक करोड बजेट

sarusaru
२२ जेष्ठ २०७५, मंगलवार ०८:५२

काठमाडौँ- लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ ।
तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिनुभयो । पुनःनिर्माणका लागि गोकर्णेश्वर महादेव मन्दिर जीर्णाेद्धार कमिटीले भने रु दुई करोड ५० लाख माग गरेको थियो ।

गोकर्णेश्वरवासीको चाहना भने उक्त मन्दिरको छाना तामामा सुन लेपन गरी पशुपतिनाथ मन्दिरमा जस्तै पानी नचुहिने निर्माण गर्नुपर्ने रहेको छ । सुन लेपनबाट खिया नलाग्ने उनीहरुको भनाइ छ । विसं २०७४ फागुनमा कमिटीबाट आयोजना गरिएको सप्ताह महायज्ञबाट करीब रु तीन करोड नगद र जिन्सी संकलन गरिएको थियो ।
मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष श्रीकुमार श्रेष्ठ जतिसक्दो छिटो पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुहुन्छ । गोकर्णेश्वरमा प्रत्येक वर्ष भाद्र कुशेऔँसी र पौष गयाऔँसीका दिन आआफ्ना पितृको सम्झनामा श्राद्ध एवं पितृतर्पण गरिन्छ । पौराणिक कालमा लङ्कानरेश रावणले पनि गोकर्णेश्वरको दर्शन गरेको किंवदन्ती छ । सत्ययुगमा महादेवले मृगरुप लिँदा खोज्दै गएका देवताहरुले उनलाई चिनी सिङमा समाउँदा भाँचिएर तीन टुक्रा भएकामा एक टुक्रा आकाश, एक टुक्रा पाताल र एक टुक्रा हातमा रहेको थियो । हातमा रहेको सोही टुक्रा हालको गोकर्णेश्वरमा स्थापना गरिएको पुराणमा वर्णित छ ।
रासस