१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शेर्पाको पीडा बुझ्न सगरमाथा चढें

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७५, मंगलवार १५:२९

डोमा शेर्पा, सगरमाथा आरोही सञ्चारकर्मी
सञ्चारकर्मी डोमा शेर्पाले हालै सगरमाथा आरोहण गरिन् । शेर्पा समुदायबाट हिमाल आरोहण गर्ने डोमा पहिला महिला सञ्चारकर्मी हुन् । शेर्पाको वास्तविकता बुझ्न आफूले सगरमाथा आरोहण गरेको उनको भनाइ छ । प्रत्येक पाइलामा ज्यान जोखिममा राख्ने शेर्पाहरू आरोहणमा पर्दापछिका नायक हुन् । ती नायकलाई राज्यले के सुविधा दिएको छ ? हिमाल चढ्न नसक्ने भएपछि उनीहरूको जीवन कसरी बित्छ भन्ने जान्न सगरमाथा आरोहण गरेको डोमाले बताइन् । सगरमाथा आरोहणपछि हासिल गरेको अनुभव, नेपाली पत्रकारिता र आफ्नो निजी जीवनबारे डोमासँग कुमार राउतले गरेको कुराकानी :

० पेसाले सञ्चारकर्मी हिमाल चढ्न के कुराले पे्ररित ग-यो ?
– सन् २०१४ मा सगरमाथा आरोहणका क्रममा १६ जना शेर्पाले ज्यान गुमाउनुप¥यो । सञ्चारकर्मी भएको नाताले हिमाल आरोहणमा शेर्पाको अवस्था बुझ्ने मेरो इच्छा थियो । त्यही इच्छा पूरा गर्न मैले यसपटक सगरमाथा आरोहण गरेकी हुँ । साथै सञ्चारमाध्यममा शेर्पाको आवाज पुगोस् र महिला सशक्तीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले हिमाल आरोहण गरेकी हुँ ।

० कस्तो रहेछ शेर्पाको अवस्था ?
– शेर्पाको जीवनलाई नजिकबाट बुझ्ने प्रयास गरें । हिमाल आरोहणको वास्तविक नायक उनीहरू नै रहेछन् । यद्यपि उनीहरू जीवनलाई जोखिममा पारेर काम गरिरहेको हुँदा रहेछन् । त्यस्तो जोखिमपूर्ण कामलाई राज्यले बुझेको रहेनछ भन्ने महसुस भयो ।

० उनीहरूको चाहना के रहेछ ?
– जोखिमपूर्ण कामलाई राज्यले सम्मान गरोस् भन्ने उनीहरूको चाहना रहेछ । यदि दुर्घटना भयो भने त्यसपछिको दायित्व राज्यले लिनुपर्छ । घाइते भए त्यसको उपचारलगायत अन्य सुविधा उपलब्ध होस् भन्ने उनीहरूको चाहना छ ।

० इन्स्योरेन्स हुँदैन ?
– हुन्छ, तर त्यो पर्याप्य हुँदैन । १५ लाख रुपैयाँको इन्स्योरेन्सले केही हुँदैन । राज्यले नै त्यस्तो जनशक्तिलाई भत्ता तथा सञ्जयकोषको व्यवस्था गरेर उनीहरूको भविष्यलाई सुनिश्चित गर्नुपर्छ । उनीहरूको बालबच्चा तथा परिवारको भविष्यलाई सुरक्षित गर्नुपर्छ ।

० कति छ यस्ता जनशक्ति नेपालमा ?
– हिमाल आरोहणमा पर्दा पछाडिको नायक शेर्पा विदेश पलायन हुने क्रम तीव्र छ । यदि हामीले रोक्न सकेनौं भने केही समयपछि शेर्पा पाउन मुस्किल पर्नेछ । यदि शेर्पाको अभावमा हिमाल आरोहण रोकियो भने राज्यलाई आर्थिक रूपले धेरै क्षति पुग्न सक्छ ।

० के गर्दा रोक्न सकिन्छ ?
– पाइला पाइलामा मृत्युलाई चुनौती दिएर पाइला अघि बढाउनुपर्ने शेर्पालाई विदेशमा भन्दा नेपालमै आकर्षित गर्न सकियो भने विदेश पयालन रोक्न सकिन्छ होला । त्यस विषयमा राज्य समयमै गम्भीर बनोस् ।

० आरोहणको क्रममा विकृति पनि देख्नुभयो होला नि ?
– राज्यले राजस्व संकलनमा मात्र ध्यान केन्द्रित गरेको हो कि जस्तो देखिन्छ । त्यहाँ फोहोरको व्यवस्थापन, हिमालय रेस्क्यु एसोसिएसन (एचआरए), स्वास्थ्य सेवा तथा फोनको घरमा काम गर्न खोज्ने लियाजो अफिसर र प्रविधियुक्त उद्धार टोलीको अभाव देख्दा मलाई त्यस्तो महसुस भएको हो ।

० तयारी अवस्थामा हुँदैन उद्धार टोली ?
– उद्धार टोली नहुने होइन हुन्छ, तर समय, परिस्थित र प्रविधियुक्त टोली हुनुपर्छ भन्न खोजेकी हुँ ।

० हिमाल आरोहणको समाचार तथ्यमा आधारित हुँदो रहेछ ?
– धेरै कुरा तथ्यभन्दा बाहिरको समाचार प्रवाह हुँदो रहेछ । जस्तो, मेरै मृत्युको समाचार मैले पढ्न पाएँ । यो समाचारले मेरो परिवारलाई कति पीडा दियो होला, त्यो कुरा समाचार लेख्ने संवाददातालाई महसुस भयो त ?

० कहिलेदेखि पत्रकारितामा क्षेत्रमा हुनुहुन्छ ?
– अहिले सेफर्ड कलेजबाट आमसञ्चारमा मास्टर्स गर्दैछु । विशेषतः हिमाली क्षेत्रको आवाजलाई विश्वमाझ पु¥याउनुपर्छ भन्ने अभियानमा छु ।

० नेपालको पत्रकारितामा भविष्य सुरक्षित छ ?
– छ, मेहनत गर्न सक्यो भने पत्रकारिता क्षेत्रमा नाम र दाम दुवै छ ।

० नेपाली पत्रकारिता बद्नाम छ भन्छन् नि ?
– पत्रकारलाई गाली गरेको मैले पनि सुनेको छु, यद्यपि आफू पेसाप्रति इमान्दार र अनुशासित रूपमा प्रस्तुत हुने हो भने कसैले गाली गर्ने हिम्मत राख्दैन । पेसालाई सम्मानित बनाउन हामीले इमान्दारिता र अनुशासन पोलेर खानु हुँदैन ।

० पत्रकारिता पेसा मर्यादित बन्छ होला ?
– सबै पेसा मर्यादित नै हुन्छ, अबको पुस्ताले पत्रकारितालाई नयाँ बाटोमा डो¥याउँदैछन् । बिटमा विज्ञता हासिल गर्नुपर्छ । जुन बिटमा कलम चलाइन्छ, त्यो विषयमा गहिरोसँग अध्ययन भयो भने पेसा मर्यादित र सम्मानित हुन्छ जस्तो लाग्छ ।

० अहिले पत्रकारिता पेसा कस्तो पाउनुभएको छ ?
– अघि नै मैले आफ्नै उदाहरण दिइसके । आममानिसको मन जित्न समाचारले सही सूचना दिनुपर्छ, द्विविधा उत्पन्न गराउनु हुँदैन ।

० स्कुल कहाँ पढ्नुभयो ?
– सोलुखुम्बुको जुनबेसी सामुदायिक स्कुल पढेकी हुँ । त्यसपछि होटल म्यानेजमेन्टको अध्ययन गरें, आमसञ्चारबाट डिग्री लिँदैछु ।

० अध्ययन गर्न कठिन भएन ?
– डिग्रीमा समेत छात्रावृत्तिमा अध्ययन गर्दैछु ।

० अध्ययन सकेर तपाईं पनि विदेशै जाने होला नि ?
– होइन, मैले नेपालमै भविष्य देखेकी छु । हिमालको आवाजलाई विश्वमाझ बुलन्द बनाउने मेरो अभियान हो । दाइ र बुवाले मलाई विदेश जान रोक्नुभएको हो । भिसा क्यान्सिल गरेर नेपालमै बसेकी हुँ । यद्यपि तीन महिना विदेशमै हुन्छु ।

० विवाह गर्नुभयो ?
– टिनएजमा भएको थियो, अहिले सम्बन्ध विच्छेद भइसक्यो ।

० वैवाहिक जीवन किन टिकेन ?
– समाज परिवर्तनको अभियानमा लागेको मान्छेलाई घरबाट सहयोग भएन । घरेलु हिंसाको सिकार हुनुभन्दा अलग बस्ने निर्णय लिएँ । श्रीमान्को सहयोग नभए नेपाली महिलाहरू भोकै हुन्छन् भन्ने मानसिकता परिवर्तन गर्न पनि सम्बन्धविच्छेद
मेरा लागि अनिवार्य बन्यो ।

० उनीहरूको चाहना के ?
– घर व्यवहार हेरिदियोस्, खाना पकाओस्, घरभित्रै सीमित होस्, सन्तान जन्माइदियोस् भन्ने चाहना थियो । महिलाले वृत्तिविकासको काम गर्नु हुँदैन भन्ने मान्यता राखिन्थ्यो ।

० शेर्पा समुदायमा छोरी बुहारी स्वतन्त्र हुन्छन् भनिन्छ नि ?
– यी सब भन्ने कुरा हुन् । उनीहरू घरभित्र मात्र स्वतन्त्र हुन्छन्, घरबाट बाहिर निस्केपछि त्यो स्वतन्त्रता गायब पारिन्छ ।