१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनलाई समेटेर सरकारले विज्ञ समूह गठन गर्ने

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७५, मंगलवार १५:१९

लन्डन । नेपाल सरकारले विदेशस्थित गैरआवासीय नेपालीहरुलाई समेटेर विज्ञहरुको समिति बनाउने भएको छ । प्रवासी नेपाली मंच वेलायतले सोमवार लण्डनमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै नेपाल कम्यूनिस्ट पार्टीका सांसद पद्म गिरीले सरकारले प्रवासी नेपालीसँग भएका ज्ञान, क्षमता र अनुभवलाई नेपालमा भित्र्याउने तयारी थालेको बताए । कार्यक्रममा सांसद गिरीले प्रवासी नेपालीसँग हातेमालो गर्दै सरकार अघि बढने जानकारी दिए ।

उनले प्रधानमन्त्री केपी ओलीले शिक्षा, स्वास्थ्य, पुर्वाधार र प्रविधिका क्षेत्रका काम गर्न प्रवासी नेपालीलाई समेटेर छुट्टाछुटटै विज्ञहरु रहने एक समितिको गठन गर्न थालेको बताएका छन् ।

गिरीले दुई तिहाइको सरकार भएकाले जनताले भरोसा गर्न लाएक भएको दावी गर्दै प्राथमिकतामा पूर्वाधार विकास परेको बताए । उनले देश निमार्ण कार्यमा जुट्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरे ।

प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले सरकारले जनआकाक्षा पूरा गर्ने विश्वास व्यक्त गरे ।

उनले लोकतन्त्रमा जनता भन्दा ठुला कोही नभएकाले मंच अध्यक्ष पुडासैनीले जनताले आफ्नै सरकार भएको अनुभव गर्ने गरि काम गर्न पार्टीलाई आग्रह गरे । उनले बेलायतमा पनि छिट्टै एमाले र माओवादीका प्रवासी संगठनहरु एकीकरण हुने जानकारी दिए ।

मंचका संस्थापक अध्यक्ष अल्कलजंग लामाले प्रवासका संगठनका बारेमा पार्टीका स्पष्ट धारणा आवश्यक रहेको जनाए ।

निवर्तमान अध्यक्ष रामशरण सिंखडाले प्रवासमा सिकेका ज्ञान र अनुभवलाई नेपाल सरकारलाई हस्तान्तरण गर्न तयार रहेको बताए ।

जनप्रगतिशील मंच यूकेका पुर्व इन्चार्ज पुर्ण लोक्समले राजनीतिलाई पेशा नबनाई हरेक नेता तथा कार्यकर्ता उत्पादनसँग जोडिनु पर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ यूके शाखाका बरिष्ठ उपाध्यक्ष श्याम लुईटेलले पत्रकारहरु नेपालको समृद्धीका लागि हातेमालो गर्दै अघि बढन तयार रहेको जनाए ।

नर्थ ह्यारोस्थित सारस रेष्टुरेन्टमा भएको स्वागत कार्यक्रममा प्रवासी नेपाली मंच यूकेका उपाध्यक्ष धन क्षेत्रीले स्वागत मन्तव्य दिएका थिए ।

कार्यक्रममा अर्जुन चापागाई, एनआरएनए यूकेका उपाध्यक्ष शुशिला राई र लेखक नरेश काङवाङ राईलगायतले आ आफ्नो धारणा राखेका थिए । मंचका सचिव हेम लिम्बुले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामजी बराललगायतका मंच आवद्ध सदस्यहरुको उपस्थित थिए ।