८ बैशाख २०८१, शनिबार
Follow Us

कवि हरिबिभोर कार्की सम्मानित

नेपालब्रिटेन डट कम्
२२ जेष्ठ २०७५, मंगलवार २०:५५

लण्डन। नेपाली साहित्य विकास परिषद् यूके द्वारा कवि हरिबिभोर कार्कीलाई पाँच तोला प्योर चाँदी र आधा तोला २४ क्यारेट सुनमा बनेको एनएलडिसि गोल्ड मेडल दोस्रा पदक पुरस्कारबाट उहाँकै निवासमा सुशोभन गरिएको छ । बिगत चार दसक भन्दा बढि समय देखि बेलायतमा समाज सेवाका साथै नेपाली साहित्य विकास परिषदको स्थापनाकाल देखि नै आवद्ध रही नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पु-याएको उल्लेखनिय योगदानको कदर गर्दै सम्मानित भएका हुन् ।

साहित्यसेवी उनलाई एन एल डि सि गोल्ड मेडल पदक पुरस्कारद्वारा सम्मानित गरिएको हो । स्वास्थ्यको कारणबाट यस अघि सम्पन्न सुशोभन समारोहमा कवि हरिबिभोर कार्की उपस्थित हुन सक्नुभएको थिएन । अल्डरसट स्थित कवि कार्कीको निवासमा पुगि नेपाली साहित्य विकास परिषद यूके का नव निर्वाचित अध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्लले कवि हरिबिभोर कार्कीलाई गोल्ड मेडल पदक पुरस्कार सुशोभन गर्नु भयो । उक्त अवसरमा परिषदका पूर्वअध्यक्ष तथा सल्लाहकार कवि हरिसिँह थापा, उपाध्यक्ष तथा पत्रकार बाचस्पति रेग्मी, महासचिव कवि वीरेन्द्र कुँवर लगायतका पदाधिकारीहरू र श्रीमती मिरा कार्कीको समेत उपस्थिति रहेको थियो ।

पुरस्कार सुशोभन गर्नुहुदै अध्यक्षकवि कोमल प्रसाद श्रेष्ठमल्लले कवि हरिबिभोर कार्कीको साहित्यसेवा र सृजनाको सरहाना गर्नु हुँदै समस्त साहित्यकारहरूको तर्फबाट वधाईज्ञापन गर्नुभयो । परिषदका पूर्वअध्यक्ष तथा सल्लाहकार कवि हरिसिँह थापाद्वारा लिखित ४ किर्ति मायाको चिनो प्रदान गरियो । साथै उपाध्यक्ष तथा पत्रकार बाचस्पति रेग्मी, महासचिव कवि वीरेन्द्र कुँवरले परिषदको तर्फबाट कवि कार्कीलाई वधाई ज्ञापन गर्नुहुदै सुस्वास्थ्यको कामना गर्नुभएको थियो । कवि हरिबिभोर कार्कीका तीन कृतिहरू प्रकाशित छन् र थुप्रै फुट्कर कविता र लेखहरू पत्रिकाहरूमा प्रकाशित हुँदैआएका छन् ।