१५ बैशाख २०८१, शनिबार
Follow Us

शुल्क पाँच गुणा बढी, केन्द्रलाई ५० प्रतिशत

sarusaru
२३ जेष्ठ २०७५, बुधबार ०५:३१

काठमाण्डौ -पार्टी एकीकरणपछि सदस्यता शुल्कमा पाँच गुणा बृद्धि हुने भएको छ । यसअघि तत्कालिन नेकपा एमालेमा सदस्यता शुल्क मासिक २० रुपैयाँ थियो । प्रत्येक सदस्यले सदस्यता नवीकरण गर्दा मासिक २० को दरले २४० रुपैयाँ बुझाउनुपर्ने नियम थियो । सो रकम सम्बन्धित कमिटीले लिएर केन्द्रमा ५० प्रतिशत पठाउने प्रचलन थियो ।

तत्कालीन माअ‍ोवादीमा सदस्यता शुल्क मासिक १५ रुपैयाँ थियो । पछिल्लो समय माओवादीमा सदस्यता नवीकरण हुन छाडेको छ । हेटौंडा महाधिवेशनपछि सदस्यता नवीकरण र अद्यावधिक गर्ने प्रणालीनै नरहेको स्रोतले जनाएको छ । चार हजार सदस्यीय केन्द्रीय कमिटी बनेपछि पार्टीको संगठन प्रणाली भद्रगोल भएको हो ।

अब नेकपाका प्रत्येक सदस्यले पार्टी सदस्यता नवीकरण गर्दा मासिक एक सय रुपैयाँका दरले १२ सय रुपैयाँ जिल्ला कमिटीमा बुझाउनेछन् । जिल्ला कमिटीले नविकरण शुल्कमध्ये २५ प्रतिशत रकम आफूसँग राखेर बाँकी ७५प्रतिशत प्रदेश कमिटीमा पठाउने नियमावलीमा प्रस्ताव गरिएको छ ।

प्रदेश कमिटीले २५ प्रतिशत राखेर ५० प्रतिशत रकम केन्द्रीय कार्यालयको खातामा पठाउने व्यवस्था गर्न लागिएको छ । लेबीको हकमा माथिल्लो कमिटीले आफू मातहत कमिटीलाई दायित्व तोक्नेछ । लेबी र सदस्यता शुल्कबाटै पार्टी चलाउने र चन्दा माग्न नपर्ने अवस्था सिर्जना गर्न खोजिएको नेताहरुले बताए ।

साबिक एमाले र माओवादीका सदस्यले नेकपाको सदस्यता नविकरण गर्नकालागि सम्बन्धित जिल्ला कमिटीमा पुगेर फारम भर्नुपर्ने व्यवस्था नियमावलीमा गरिएको मस्यौदा समितिका सदस्य बेदुराम भुसालले बताए । जिल्ला कमिटीहरु एकीकरण भएसँगै सदस्यता नविकरण शुरु हुने उनले जानकारी दिए ।