१५ चैत्र २०८०, बिहीबार
Follow Us

सांसदलाई दाताको सहयोगमा तालिम

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७५, बुधबार ०६:३८

काठमाडौं । संघीय संसदका सांसदहरुले दाताको सहयोगमा प्रशिक्षण लिन लागेका छन् । आजबाट संघीय संसद भवन नयाँबानेश्वरमा सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसद सहभागी हुने बताइएको छ । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको हो ।

संसद् सचिवालयले ‘संसदीय प्रशिक्षण’ शीर्षकमा ३७ लाख ५० हजार रुपैयाँ बजेट छुट्टयाए पनि राष्ट्रसंघीय विकास कार्यक्रम (यूूएनडीपी) को लगानीमा संसद् भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको छ । प्रशिक्षण आयोजक संसद् सचिवालय भनिए पनि सम्पूर्ण खर्च यूएनडीपीले बेहोर्ने छ । ‘सांसदलाई तालिम शीर्षकमा बजेट भए पनि दाताको खर्चमा प्रशिक्षण दिइनु लाजमर्दो काम भएको भनि आलोचना भएको छ ।

यूएनडीपीले सांसदलाई खाना, खाजा, स्टेसनरी, प्रशिक्षण भत्तालगायत खर्च बेहोर्नेछ । दाताको लगानीमा जनप्रतिनिधिलाई तालिम दिन लागिएको भन्दै कतिपय सांसदले समेत असन्तुष्टि जनाएका छन्  । नेकपाका सांसद झपट रावलले अपारदर्शी र राज्यको नियन्त्रणबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेका कुनै पनि कार्यक्रममा आफू सहभागी नहुने बताउनु भएको छ ।

‘देश र जनताका लागि काम गर्ने भनेर हामीले राज्यबाट सुविधा लिइरहेका छौं । अरूलाई सिकाउने यस्ता एनजीओ, आईएनजीओ र दाताहरू जबसम्म आफैं पारदर्शी हुँदैनन् र राज्यले तिनलाई नियमन गर्दैन, तबसम्म कुनै पनि कार्यक्रममा जान्नँ,’ उहाँले भन्नु भएको छ । त्यस्ता संस्थाले यसखाले कार्यक्रम गरेको फोटो खिचेर रकम भजाउने काम गर्ने भन्दै उनले त्यसको नियमन जरुरी रहेको औंल्याउनु भयो ।

यसअघि, अर्का दाता युरोपेली युनियन (ईयू) ले प्रतिनिधिसभाको निर्वाचन अनुगमन प्रतिवेदनमार्फत नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरेको भन्दै संसद्को पहिलो अधिवेशनमा सांसदहरूले विशेष समय लिएर विरोध जनाएका थिए ।