१३ बैशाख २०८१, बिहीबार
Follow Us

हुम्लामा पर्यटकको घुइँचो, महिना दिनमा ३ हजार भित्रिए

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७५, बुधबार ०९:०९

हुम्ला। हुम्लाको सिमकोटको बाटो भएर मानसरोबर कैलाश जाने भारतीय धार्मिक पर्यटकरु बढ्न थालेका छन् । सिमकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाश यात्राका लागि बैशाख २९ गतेबाट आउन सुरु गरेका भारतीय धार्मिक पर्यटकहरु जेष्ठ २० गते सम्म ३ हजार बढी जिल्लामा भित्रिएका छन ।

पर्यटकहरु आउनका लागि हवाई यातायात ब्यवस्था सहज भएको तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसंगै पर्यटकहरुको संख्या यति धेरै पुगेको र यो क्रम असोजसम्म जारी रहने सिमकोट बिमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक मदन शाहीले बताउनुभयो ।

आईतबारसम्म सिमकोट हुँदै मानसरोबर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकहरुको संख्या ३ हजार ४ सय ९ पुगेको सिमकोट गाँउपालिकाको तर्फबाट बिमान स्थलमा आएका पर्यटकहरुको पर्यटन शुल्क उठाउने खटिएका धनरासी रोकायाको भनाई छ ।जसमध्ये ३ हजार ३ सय २९ जना भारतीय र अरु ८० जना तेस्रो मुलुकका पर्यटक भित्रिएको रोकायाले बताउनुभयो । गतबर्ष यहि समय सम्म १ हजार ६ सय ७७ मात्र मानसरोबर कैलाश दर्शनका लागि आएका थिए भने यसपाली यसको दाेब्बर भन्दा बढी मानसरोबर कैलाश दर्शनका लागि धार्मिक पर्यटक भित्रिएका छन ।

जिल्लामा धार्मिक पर्यटक आउने संख्या बढेसंगै एकै चोटी १ सय जना अटाउन सक्ने ठुल ठुला ४, ५ हाेटेल यो बर्ष मात्र बनेका छन । त्यो संगै सिमकोटमा पर्यटकहरुका लागि बास बस्न र खानाखाने स्तरीय होटेलको निर्माणले ठुलो सहयोग पुगेको र यसले पर्यटन क्षेत्रको प्रर्बद्धनमा होटेल ब्यबसायको ठुलो हात रहने बिजय होटेलका प्रमुख याङकी लामाले बताउनुभयो ।

पर्यटन क्षेत्रको बिकास र प्रर्बद्धनका लागि यस जिल्लाको एक मात्र यातायातको साधन हवाई यातायात र होटेल व्यवसायले महत्वपुर्ण भुमिका खेलेको छ। पर्यटकहरुको संख्यामा बृद्धि हुनुमा मुख्य त मानसरोवर कैलाश दर्शनका लागि हो भने त्यो संगै पर्यटकहरुका लागि सिमकोटमा बास बस्न र खाना खाने स्तरीय होटेलको निर्माण पनि पर्यटकको आकर्षणको पाटो रहेको हुम्ला होटेल ब्याबसायि संघका अध्यक्ष मिम लामाको भनाई छ ।

३ बर्ष अगाडी सम्म सिमकोटमा तीन देखि चार होटेल मात्र संचालन थिए जसले बाह्य तथा आन्तरिक पर्यटकलाई बासबस्न र खान समस्या हुने भए पनि अहिले भने घरघरमा होमस्टे संगै १४ वटा सुबिधा सम्पन्न होटेलहरु संचालन हुँदा पर्यटकलाई सहज भएको हुम्ला रिसोर्ट एण्ड स्पाका म्यानेजर पेमा लामाले बताउनुभयो।

मानसरोवर कैलाश दर्शनका लागि भारतीय धार्मिक पर्यटक बढेकाले अहिले सिमकोट बिमान स्थल देश भरीकै ब्यस्त बिमानस्थलका रुपमा चिनिन थालेको छ । भने हवाई जहाजले र हेलिकोप्टर गरी दैनिक १ सय २० देखि ३० उडान हुने नागरिक उड्डयान प्राधिकरण सिमकोटका प्रमुख गौरी शंकर शाहले बताउनुभयो ।
– जनकबहादुर शाही