१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदेश २ मा राजपाले सरकार छाड्ने

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७५, बुधबार १५:११

काठमाडौं । प्रदेश २ को सरकारबाट सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टी (राजपा) अलग हुने भएको छ । यसको औपचारिक निर्णय हुन बाँकी रहे पनि राजपाका एकजना नेताले प्रदेश २ को सरकारबाट राजपा अलग हुने घोषणा गरेका हुन् । सत्ताको नेतृत्व गरिरहेको संघीय समाजवादी पार्टी केन्द्र सरकारमा संलग्न भएपछि यी दुई दलबीच खटपट सुरु भएको थियो ।

राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका हुन् । नेता सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढीमात्रै भएको पनि बताए ।

उनले यही जेठ २५ गते बस्ने पार्टीको राजनीतिक समितिको बैठकबाट प्रदेश नम्बर २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले भने,‘ढटुँवा कम्युनिष्टहरुलाई हामी समर्थन गर्दैनौं, त्यसैले २५ गतेको बैठकबाट ढटुँवा कम्युनिष्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं।’

नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौ हामीलाई मत दिनुहोस् भनेर ढाँटेको बताउँदै अब ढटुँवा कम्युनिष्टहरुलाई दिएको समर्थन जारी नरहने स्पष्ट पारे ।

नेता सुमनले राजपा संसदमा तेस्रो ठूलो दल र २ नम्बर प्रदेशमा पहिलो शक्ति भएको जिकिर गरे । उनले भने,‘राजपाविरुद्ध कम्युनिष्ट र फोरम मिलेर षड्यन्त्र गरेका छन्, हामीलाई निमिट्यान्न पार्न खोजिँदैछ, हामीलाई बाईपास गरेर मधेशमा गरिने कुनैपनि सम्झौताको औचित्य छैन्, नेकपा र फोरमबीचको २ बुँदे सहमतिपनि मधेशको हितमा छैन्।’

फरक प्रसँगमा उनले रेशम चौधरीलाई बचाउनको लागि मात्रै संसद निलम्बन गर्न हुँदैन भन्ने पक्षमा राजपा नेपाल नउभिएको दाबी गरे । उनले भने,‘यो नियामावली त पाँच वर्षको लागि बन्ने हो, राजपा अपराधीलाई सांसद बनाउन हुँदैन भन्ने पक्षमै छ।’