१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायतका नर्सले मातृ शिशु केन्द्रको लागि कोष जुटाउने

नेपालब्रिटेन डट कम्
२३ जेष्ठ २०७५, बुधबार २१:२४

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आउंदो अगस्ट २४ तारिखका दिन संस्थाको दशौं वार्षिकोत्सव मनाउने भएको छ । एशोसिएसनले जुम्लामा निर्माण सुरु गरेको मातृ शिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन एक च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइने भएको हो । मंगलबार सांझ लण्डनको ह्यारोमा एक पत्रकार सम्मेलन गर्दै एशोसिएसनले उक्त कार्यक्रममा सहयोग तथा सहभागिताको लागि बेलायतस्थित नेपाली समुदायलाई आव्हान गरेको छ । नेपालस्थित ‘एक्सन वर्क्स नेपाल’संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य मार्च महिनादेखि नै सुरु भइसकेको छ ।

४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम गर्न लागेको हो ।

एशोसिएन अध्यक्ष प्रसुना कंडेलले अबको दुई वर्षभित्र मातृशिशु केन्द्र निर्माणको कार्य पूरा गर्ने, सुरुका तीन वर्ष एशोसिएसनकै सहयोगमा केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको बताइन् । ‘जुम्लाको विकट गाउंमा पुगेर मातृशिशु केन्द्र बनाउने कार्यलाई हामीले एशोसिएसनको ड्रिम प्रोजेक्टका रुपमा लिएका छौं’, अध्यक्ष कंडेलले भनिन्, ‘हाम्रो यो प्रोजेक्टलाई सार्थक बनाउन बेलायतको नेपाली समुदाय र यहांका संघसंस्थाहरुबाट हामीले ठूलो सहयोग र हौसलाको अपेक्षा गरेका छौं ।’ बेलायतमा क्रियाशिल नेपाली नर्सहरुबाट कार्यक्रममा विशेष सहभागिता तथा सहयोगको आशा गरेको अध्यक्ष कंडेलले बताइन् । ‘हामीहरुमध्ये धेरैसंग नेपालमै पनि काम गरेको अनुभव छ ।

दुर्गम र विकट गाउंहरुमा कस्तो अवस्था छ, त्यहांका दिदीबहिनीको हाल कति दयनीय छ भन्ने त हामी आफैले देखेका र भोगेका पनि छौं’, बेलायतमा कार्यररत सबै नेपाली नर्सहरुलाई विशेष अपील गर्दै अध्यक्ष कंडेलले भनिन्, ‘यसकारण पनि यो प्रोजेक्टलाई सफल पार्ने तपाई हाम्रो कर्तव्य हो । हामीले आफ्नो १ २ दिन लगानी गरेर यो पुण्य काममा योगदान गर्ने मौका पाउंछौं भने किन पछि हट्ने भनेर सोंच्नुपर्नेछ ।’एशोसिएसनका उपाध्यक्ष विनोदविकास सिंखडाले कार्यक्रमका लागि नेप्लिज डक्टर्स एशोसिएसन यूके, एनआरएनए यूके लगायतका संस्थाहरुबाट ऐक्यबद्धता आइसकेको तथा बेलायतस्थित अन्य नेपाली संघसंस्थाहरुलाई अब अप्रोच गर्दै जाने योजना रहेको सुनाए ।

कोषाध्यक्ष गंगा साम्पांगले जुम्ला प्रोजेक्टको लागि अहिले कोषमा १४ हजार पाउण्ड रहेको जानकारी दिंदै च्यारिटी कार्यक्रमबाट थप २८ हजार उठाउने लक्ष्य राखिएको बताइन् । पूर्व अध्यक्ष एवम सल्लाहकार बासु लामिछानेले प्रोजेक्ट ५ वर्षे भएपनि लागत बजेटको अधिकांश सुरुमै आवश्यक पर्ने भएकाले सोहिअनुसार सहयोग गर्न सहयोगदाताहरुलाई आग्रह गरे । पत्रकार सम्मेलनमा एनआरएनए यूके महासचिव आरके त्रिपाठीले जुम्लामा मातृशिशु केन्द्र निर्माण गर्ने नर्सिङ एशोसिएसनको प्रोजेक्ट ‘नोबेल’ रहेको भन्दै एनआरएन यूकेको तर्फबाट पुर्ण सहयोगको प्रतिबद्धता गरे ।

कार्यक्रममा एनआरएन यूकेको सिंगो कार्यसमितिलाई उपस्थित गराउंछौं, केन्द्रका पदाधिकारीहरुलाई पनि पत्र काटेर हामी सहयोग र सहभागिताका लागि आग्रह गर्नेछौं’, महासचिव त्रिपाठीले भने, ‘नर्सिङ एशोसिएसन यूकेले गर्न लागेको यो प्रोजेक्ट सम्पुर्ण एनआरएनहरुको गर्व र प्रतिष्ठाको विषय भएकाले हामी यसमा सहयोग गर्न आतुर छौं’ ।

अगस्ट २४ को वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रममा बेलायतका सांसद, काउन्सिलर, रोयल कलेज अफ नर्सिङ तथा नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलका प्रतिनिधीहरु, बेलायतका लागि नेपाली राजदूत लगायतका विशिष्ट अतिथीहरुलाई निम्त्याउने एशोसिएसनको योजना छ । कार्यक्रममा बेलायतस्थित पाकिस्तानी, बंगलादेशी, भारतीय, फिलिपिनो तथा अफ्रिकी मुलुकहरुका नर्सिङ एशोसिएसन आबद्ध नर्सहरुको पनि सहभागिता रहने बताइएको छ । कार्यक्रममा नेपाली नर्सहरुको साथै उनीहरुले पनि आ आफ्नै देशका सांस्कृतिक प्रस्तुति गर्ने भएकाले कार्यक्रम मल्टकिल्चरल बन्ने आयोजक एशोसिएसनको विश्वास छ ।

कोष संकलनका लागि कार्यक्रममा विभिन्न आकर्षक पुरस्कारसहित राफल, अक्सन समेत गरिनेछ । क्रिकेटका महान हस्ती सचिन तेन्दुल्करले हस्ताक्षर गरेको ब्याट र बल पनि मुख्य आकर्षणका रुपमा अक्सनमा राखिने बताइएको छ । कार्यक्रममा सहभागिताको लागि ३५ पाउण्डको टिकट राखिनेछ ।

पुण्य कार्यको उद्धेश्य राखेर गर्न लागिएको कार्यक्रममा प्रायोजकको रुपमा सहयोग गरिदिन समेत आयोजक एशोसिएसनले ईच्छुक व्यवसाय तथा संघसंस्थाहरुलाई आव्हान गरेको छ । सोहि दिन एशोसिएसनले हरेक दुई वर्षमा प्रकाशन गर्दै आएको स्मारिकाको तेस्रो अंक पनि विमोचन गरिदैछ । स्मारिकाका लागि सान्दर्भिक लेख, रचना तथा रिसर्च आर्टिकलहरु पठाउन नर्सहरुलाई आग्रह गरिएको छ तस्बिरहरु: शिव भण्डारी