१३ बैशाख २०८१, बिहीबार
Follow Us

आयल निगमको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धामा

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार ०९:५५

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगमको कार्यकारी निर्देशकको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने बताउनु भएको छ । भ्रष्टाचारको अभियोग लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएलगत्तै उहाँले संचारकर्मीमाझ खुला प्रतिष्पर्धाबाट सो पदमा नियुक्त गर्न आफूले चाहेको बताउनु भएको हो ।

बिहिबार खड्काले जिम्मेवारी विहिन अवस्थामा आफूलाई राखेको पीडा सहन नसकेको भन्दै निगमको कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । मन्त्री यादवले खड्काले पदबाट राजीनामा दिएर नेपाल आयल निगमको कामलाई अघि बढाउन सहज भएको प्रतिक्रिया पनि दिनु भयो ।

उहाँले निगममा क्षमतावान नेतृत्व ल्याउन पनि खुला प्रतिस्पर्धा गरेर कार्यकारी नियुक्ति प्रक्रिया अघि बढाउने सोचाईमा आफू पुगेको पनि स्पष्ट पार्नु भयो । मन्त्री यादवले निगममा राजनीतिक नियुक्त हुनै नसक्ने पनि उल्लेख गर्नु भयो । मन्त्री यादवले नेपाल आयल निगमको गिरेको साखलाई माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँले जनताको सेवा गरेर विगतमा गिरेको छवी माथि उठाउने काममा लागिपर्न पनि आयल निगम व्यवस्थापनलाई सचेत गराउनु भयो ।