१३ बैशाख २०८१, बिहीबार
Follow Us

हङकङ लैजाने भन्दै डेढ करोड ठग्नेलाई कारबाही गर्न माग

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:२४

काठमाडौं । एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् । पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङ्कङ लैजाने भनेर ठगिएको भन्दै यस्तो माग गरेका हुन ।

२०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर फरार भएको बताउँदै पीडितहरुले राज्यले आफ्नो समस्यालाई खासै चासो नदिएको गुनासो समेत गरे । पीडित मध्येका यमबहादुर गुरुङले भने, ‘लम्जुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङ्कङ लैजान्छु भनेर मोटो रकम उठाईन, त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्किपूर्ण कुराहरु आयो र हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाए तर अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने, आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्कियौं, सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’

उनले अघि थपे,‘हामी २७ जना मध्ये एकजना हरि बहदुर राना मगरका बाबाले रणबहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम हान्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं, त्यस्तै लक्ष्य गुरुङ, सुमन गुरुङ, खुहिमान गुरुङ र मिलन गुरुङले सञ्चिता गुरुङको नाममा पोखरा लेखनाथ नगरपालिका वडा नम्बर २९ मा रहेको पाँच आना जग्गा जुन अहिले ९० लाख बराबरको मूल्य रहेको जग्गा लिलाम हान्ने अवस्था छ, यसै पत्रकार सम्मेलन मार्फत यि जग्गाहरु लिलाम प्रक्रिया रोक्का गरि हाम्रो बारेमा संवेदनशिल हुन सरकारलाई जोडदार माग गर्दछौं ।’