८ बैशाख २०८१, शनिबार
Follow Us

‘म्याच फिक्सिङ’ को आरोप लागेका खेलाडीलाई सफाइ

नेपालब्रिटेन संवाददाता
२४ जेष्ठ २०७५, बिहीबार १५:३०

काठमाडौं । म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई आज विशेष अदालतले सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।

खेल मिलेमतोमा पैसा लिएर खेलेको भन्दै प्रहरीले उनीहरुमाथि राज्यविरुद्ध अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी २०७२ साल कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सन् २००८ यता २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेर पैसा लिएको आरोपमा उनीहरुमाथि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।